१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोनाका कारण धुलिखेल होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थाले




९ वैशाख ०७७, धुलिखेल । कोरोना सङ्क्रमण बढ्न थालेपछि यहाँको पर्यटकीय गन्तव्य धुलिखेलका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि यही वैशाख पहिलो सातादेखि नै होटलका बुकिङ रद्द हुन थालेको क्षेत्रीय होटल सङ्घ हानले जनाएको छ ।

धुलिखेलका होटल सञ्चालकबाट बुकिङ गरिएका कार्यक्रम सबै रद्द गर्न थालिएको गुनासो आइरहेको सङ्घका अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । “मेरो होटलमा समेत एक दर्जन कार्यक्रम रद्द भइसके, अरु रद्द गर्ने क्रममा छन्”, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भने । दैनिक दुई सयको हाराहारीमा उनको रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा वैशाख लागेपछि दैनिक ५० जनासम्म पनि आउन मुस्किल रहेको उनले बताए ।

गत वर्षको कोरोना कहरपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित हुने देखिन्छ । धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार श्यया क्षमता छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनाएको छ । करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

वैशाख अन्तिम सातासम्मका होटलका बुकिङ रद्द भइरहेको धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेलले बताए । उनको ५० श्ययाको क्षमता रहेको होटलमा सरकारको स्वास्थ्य मापदण्डअनुसार हाल २५ लाई मात्र सेवा दिन थालिएको छ । “दुई हप्ता अघिदेखि नै होटल बुकिङ हुन छाड्यो, बुकिङ भएका पनि धमाधम रद्द हुन थालेका छन्”, प्याकुलेलले भने ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौमा विशेष तीन प्याकेजको समेत घोषणा गरेका थिए । “स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन भएका थियौँ, दोस्रो लहरले पुनः थल्याइदिने भयो”, श्रेष्ठले गुनासो गरे ।

सङ्घले ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’ विशेष प्याकेज सञ्चालन गर्दै आएको थियो । साथै हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो । पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटरको दूरीमा अवस्थित छ । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडाैँ, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दछन् ।

चापाकोट बन्द
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर समुदायस्तरमा देखिएसँगै एक हप्ताका लागि चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारी, विद्यालयका शिक्षक र समुदायस्तरमा कोरोना सङ्क्रमित व्यक्ति भेटिएपछि नगरपालिकाको अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा एक हप्ता बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शिवकुमार गिरीले बताए ।

भारतको हरिद्वारमा लागेको कुम्भमेलामा गएर फर्किएकामध्ये पाँच जनामा कोरोना पुष्टि भएपछि जोखिम बढ्न नदिनका लागि यही वैशाख १३ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए ।

“नगरपालिकाअन्तर्गतका कर्मचारी, शिक्षक र समुदायमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ”, नगरप्रमुख गिरीले भने, “सङ्क्रमणलाई थप बढ्न नदिन तथा जोखिम न्यूनीकरणमा उच्च सतर्कता अपनाउँदै एक हप्ताका लागि नगरपालिकाले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा बजार, पसल, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरिएको हो ।”

कोरोना सङ्क्रमण समुदायस्तरमा पनि देखिएकाले जोखिम न्यूनीकरणका लागि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरिएको नगरपालिकाका सूचना अधिकारी बिन्दु कोइरालाले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : ५० बजे