१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेका स्थानीय तह एकान्तबास निर्माणमा व्यस्त



फाइल तस्विर

२५ वैशाख ०७८, बनेपा  (रासस) । जिल्लाका स्थानीय तहहरु आइसोलेसन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन् । कोरोना भाइरस(कोभिड–१९) को दोस्रो लहर फैलिएपछि काभ्रेपलाञ्चोकका नगरपालिका र गाउँपालिकाहरु एकान्तबास (आइसोलेसन) व्यवस्थापन गर्न सक्रिय भएका हुन् ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा नमोबुद्धको नौविसेमा जनक बहुमुखी क्याम्पसमा ४० शय्याको एकान्तबास केन्द्र स्थापना गरेको छ । सीमित जनशक्ति एकीकृत रुपमा परिचालन गरी आइसोलेसनमा बस्ने बिरामीको सेवा प्रभावकारी बनाउन दुई पालिकाबीच सहमती गरिएको नमोबुद्ध नगरपालिकाले जनाएको छ । एकान्तबासका सबै शय्यामा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । दुबै पालिकाबाट एक÷एक चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने बिरामीको अनुपातमा दुबै पालिकाबाट स्वास्थ्यकर्मी खटाइने छ । सो केन्द्रमा एक जनाको उपचार भइरहेको छ । यसअघि सो केन्द्रमा २५ शय्या मात्र व्यवस्थापन गरिएको थियो ।
कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिकाले पनि सङ्क्रमितको उपचारको लागि तीन ठाउँमा गरी १८ शय्याको अक्सिजन सिलिण्डरसहितको एकान्तबास केन्द्र व्यवस्थापन गरिरहेको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमका अनुसार वडा नं. ५ को धुसेनी शिवालय प्राथमिक अस्पतालमा १०, वडा नं. २ को डिसीडब्लुसी अस्पतालमा ५ र वडा न.. ३ को धुलिखेल अस्पतालको आउटरिच केन्द्रमा ३ शय्याको आइसोलेसन कक्ष व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । शय्या व्यवस्थापनसँगै धुसेनी शिवालय प्राथमिक अस्पतालमा दुई र अरू अस्पतालमा एक एक गरी ४ जना एमबिबिएस डाक्टरलाई तयारी अवस्थामा राख्ने योजना रहेको उनले बताएका छन् । गाउँपालिकाले आवश्यक औषधि र अक्सिजन सिलिण्डर खरिद गर्ने तयारी गरेको छ ।
वनेपा नगरपालिकाको सक्रियतामा बनेपास्थित शिर मेमोरियल अस्पतालमा २० शय्याको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ भने नगरपालिकाको वडा नं. ५ स्थित नेपाल वनेपा पोलिटेक्निक इन्ष्च्यिुटमा ५० शय्याको एकान्तबास व्यवस्थापन गरिएको छ ।
पाँचखाल नगरपालिकाले पनि तामाघाट समाजकल्याण चोकमा स्वास्थ्य उपकरणसहित चिकित्सक तथा आवश्यक दक्ष स्वाथ्यकर्मीसहित १५ शय्याको एकान्तबास कक्ष तयार गरिसकेको छ । अहिले पाँचखाल बाहेक वनेपा र नौविसेको एकान्तबास केन्द्रमा कालीजंग गण धुलिखेलको नेपाली सेनाको टोलीले सुरक्षा दिँदै आएको छ ।
शुक्रवारसम्ममा जिल्लामा ७० सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९६४ पुगेको छ । वनेपामा ३७२, पनौतीमा २१५, धुलिखेलमा १८९, पाचखालमा ६६, मण्डनदेउपुरमा २७ र नमोबुद्ध नगरपालिकामा ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । रोशीमा २१, चौरीदेउरालीमा ८, तेमालमा ७, बेथानचोकमा १४, भुम्लुमा ८, महाभारतमा ३ र खानीखोला गाउँपालिकामा २ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । १६ जना भने शुक्रबार निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : ५६ बजे