२ जेठ ०७८, काठमाडौं । काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदै छ।
स्वास्थ्य सेवा विभागका अनुसार गत चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई आजदेखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइँदै छ। पहिलो मात्रा लिएकाहरुले आफूलाई पायक पर्ने ठाउँमा गएर दोस्रो मात्रा लिनसक्ने विभागले जनाएको छ। अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ। जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दोस्रो खोप दिइनेछ। यसैगरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, २०७७ चैत ३१ र २०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ।
वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ।
वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ। यी दिनहरुमा पहिलो खोप लगाउनेको संख्या धेरै थियो।
प्रतिक्रिया