४ जेठ ०७८, ललितपुर । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र पोर्टेबल भेन्टिलेटर सहयोग गर्ने भएको छ। ललितपुर महानगरपालिकाले सोमबार आयोजना गरेको महानगर स्तरीय विपद् व्यवस्थापन समितिको ‘भर्चुअल’ बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले उक्त जानकारी दिएका हुन्।
महानगरले पाटन अस्पताललाई छिट्टै यी सामग्री प्रदान गरेर कामलाई सहज बनाउन सहयोग गर्ने बताए। महानगर स्तरीय विपद् व्यवस्थापन समितिका संयोजक महानगर प्रमुख रहने व्यवस्था छ। यसअघि महानगरले पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि एक करोड रुपैयाँ दिइसकेको छ। उनले महानगवासीको स्वास्थ्य र सुरक्षाको लागि कुनै कसर बाँकी नराख्ने बताए।
महानगरले कोराना नियन्त्रणका लागि प्रत्येक वडालाई तीन लाखका दरले रकम उपलब्ध गराएको जानकारी दिए। महानगरले सुनाकोठी–२६ स्थित नेपाल युथ फाउन्डेसनको पोषण पुनस्र्थापना गृह र बागडोल–४ स्थित ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा आइसोलेसन सेन्टर सञ्चालन गरेको छ।
प्रतिक्रिया