२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरमा रोकियो ५० प्रतिशत काम




१० जेठ ०७८, काठमाडौं । कोरोनाका कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले निरन्तरता पाउन नसकेको तथ्य खुलेको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५५ वटा काम बन्द छ ।

“महामारी नियन्त्रणका लागि अहिले देश बन्दाबन्दीको अवस्थामा छ, अत्यावश्यक बाहेकका अन्य काम भएका छैनन्, आवश्यक पर्ने कामदार र निर्माण सामग्रीको पनि अभाव भएको र आयात गर्न समस्या भएकाले निर्माणको काममा समस्या आएको हो”, कामपा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले बताए ।

उनका अनुसार वडा नम्बर २, ३, ६, २२ र २३ मा भइरहेको सडक कालोपत्र गर्ने, ढल व्यवस्थापन, सडक बत्ती राख्ने र उद्यान निर्माणको काम अहिले रोकिएको छ । अन्तिम चरणमा पुगेको कमलपोखरी पुनः निर्माणको थोरै काठको काम बाँकी रहेको र त्यसका लागि भक्तपुरबाट कामदार ल्याउनुपर्ने भएकाले अहिलेका लागि त्यो पनि रोकिएको थापाले जानकारी दिए । अन्य वडामा सञ्चालनमा रहेको केही विकासका कामले भने निरन्तरता पाएका छन् ।
चालु आवका लागि कामपाको भौतिक पूर्वाधारका लागि रु ३ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । बजेटमध्ये हालसम्म २२ प्रतिशत मात्र खर्च भएको बताइएको छ । थापाले भने, “विकास बजेट धेरै खर्च हुने समय चैत, वैशाख, जेठ र असार हो, यही समयमा कोरोना महामारीले थलिएर बस्नु परेको छ त्यसैले विकास खर्च हुन सकेको छैन ।” कामपाले चालु आवका लागि रु १५ अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ९ : १९ बजे