३१ जेठ ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिका ३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट आइतबार करिब रु तीन लाख नगद चोरी भएको छ । भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको यो नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ ।
काठमाडौँ महानगरपालिका ६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा हाल एक महिला मृत फेला परेकी छिन् । मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको पहिचान समेत खुलेको छैन ।
५०० कारवाही
कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ५२८ जनालाई कोरोना सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरिएको छ । पछिल्लो २४ घण्टामा उनीहरूलाई कारबाही गरी रु ५३ हजार ४०० जरिवाना गरिएको प्रहरीले जानकारी दिएको छ । आज चार हजार ३१७ जनालाई सचेत गराई छाडिएको छ ।
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ९६८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ ।
३१ जेष्ठ २०७८, सोमबार
0
Shares
प्रतिक्रिया