२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष



फाइल तस्बिर

३ असार ०७८, काभ्रेपलाञ्चोक। पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण थालेको छ । आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएका रिपोर्ट आउन थालेपछि नगरपालिकाले वडा नं ४ कार्यालयमा हाललाई ३० शय्याको आइसोलेशन बनाउन थालेको हो ।

स्थानीय रोटरी नेपालसँगको सहकार्यमा अक्सिजनसहितको आइसोलेशन बनाउन थालिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताए ।  “सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेशन बनाउन थालेका हौँ”, उनले भने । उनका अनुसार तत्कालीन अवस्थामा आवश्यकता परे वैकल्पिक व्यवस्थापनका लागि समेत नगरपालिकामा छलफल भइरहेको छ ।

नगरपालिकाले कोरोनाको दोस्रो लहर शुरु भएपछि वैशाख अन्तिम साता २५ शय्याको अक्सिजनसहितको आइसोलेशन व्यवस्थित गरेको थियो । पनौतीमा हाल ८० महिलासहित १५८ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने दुई दर्जन बढीको मृत्यु भएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले गत जेठ अन्तिम साता आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्याउन लगाउने निर्णय गरेको छ ।

धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणका २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा सङ्क्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशनकक्ष निर्माण गर्न लगाइनेछ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ४ : १५ बजे