२० असार ०७८, ललितपुर । ललितपुरको सानेपामा एक भारतीय नागरिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो ।
ललितपुर प्रहरीका अनुसार झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने देखिएको छ । घरका केही सामान पनि हराएका छन् । चोरी गर्ने उद्देश्यले आएको व्यक्ति घटनामा संलग्न हुनसक्ने प्रहरीले आशंका गरेको छ । अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेका छन् । त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर र फरेन्सिक विज्ञलाई पनि घटनास्थलमा लगेको थियो । नजिकै रहेका क्लोज सर्किट (सीसी) टीभी क्यामराका फुटेजको विश्लेषण पनि प्रहरी अधिकृतहरुले गरिरहेका छन् ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि मृत्युको समय र कारणबारे खुल्नेछ ।
मृतक पारिक इलेक्ट्रोनिक सामग्रीसँग सम्बन्धित पसलमा मार्केटिङको काम गर्थे ।
यस समाचारमा असावधानीबश सेतोपाटीले प्रयोग गरेको तस्विर पर्न गएकोमा क्षमा प्रार्थी छौं । साथै सो तस्विर हटाएका छौं । सम्पादक
प्रतिक्रिया