१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौँ महानगरपालिकाको वडा कार्यालय भवन शिलान्यास




३०साउन ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं १६ को कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरपालिकाको रु ११ करोड ५२ लाख १२ हजार ६७६ लागतमा चमती बालाजुमा निर्माण हुन लागेको यस भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शिलान्यास गरेकी छिन् ।
प्रमुख शाक्यले महानगरपालिकाको पहिलो बैठकमा काठमाडौँका सबै वडाभित्र वडा कार्यालय बनाउने निर्णय गरेको स्मरण गर्दै सयै अनुसार वडा कार्यालय भवन निर्माण अगाडि बढिरहेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षमा पाँच वडा कार्यालय भवन निर्माण गर्ने बताइन् । उपप्रमुख खड्गीले नयाँ भवन निर्माणसँगै जनताले सहज सेवा प्राप्त गर्नसक्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गरिसक्नुपर्ने बताइन् ।
कूल ३२ वडा रहेको महानगरपालिकामा पुराना १२ भवनलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको, सात भवन निर्माण भई सञ्चालनमा आइसकेका, आठ भवन निर्माण हुने क्रममा रहेका महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।
वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले चमती जग्गा एकीकरण आयोजनाबाट रु आठ करोड ५० लाखमा २१ आना जग्गा खरिद गरी भवन निर्माण सुरु गरिएको बताए । महानगरपालिकाकै सबैभन्दा ठूलो वडा नं १६ मा ४५ हजार घरधुरी रहेका छन् भने एक लाख ३५ हजारभन्दा धेरै जनसङ्ख्या छ ।
गौरी पार्वती, के एण्ड के र रमिता जेभीले निर्माण गर्न लागेको उक्त भवन साढे छतले हुनेछ । यस भवन विसं २०७९ फागुन १५ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १ : ३० बजे