१७ पुस २०८१, बुधबार | Wed Jan 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बसपार्क बन्द भएसँगै रत्नपार्कका नाङ्लो पसलेको व्यापार नै सुक्यो




१० भदौ ०७८,काठमाडौं । कोरोनाभाइरसका कारण निषेधाज्ञा लागू भएपछि रत्नपार्कमा नाङ्लो पसल राखेर व्यवसाय गर्दै आएकाहरू मारमा परेका छन् । लामो समयसम्म रत्नपार्कस्थित बसपार्कमा नाङ्लो पसल राख्दै आएकाहरू अहिले आफ्नो व्यापार व्यवसाय नै सुकेको गुनासो गर्छन् ।
रत्नपार्कस्थित पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण हुन थालेपछि त्यहाँको बसपार्क टुँडिखेल कब्जा गरेर एक साइटमा राखिएको थियो । जहाँ ५० जना नाङ्लो पसलेले व्यापार व्यवसाय गर्ने गर्थे । तर, टुँडिखेलको सौन्दर्य बिगारेको, सार्वजनिक जग्गामा बसपार्क राखिएको भन्दै काठमाडौं महानगरपालिकाले त्यो क्षेत्रमा बसपार्क हटाएपछि नाङ्लो व्यवसायी आफ्नो व्यवसाय ९० प्रतिशत सुकेको गुनासो गर्छन् ।
‘लकडाउन भएपछि हामीलाई घरपरिवार चलाउन धेरै कठिनाइ भयो, जसोतसो गुजारा चलायौं । लकडाउन खुलेपछि काठमाडौं आइयो, बसपार्क बन्द भएकाले आम्दानीको स्रोत नै बन्द भयो,’ पेमा शेर्पाले भनिन् । बसपार्कमा नाङ्लो पसलबाटै हुने आम्दानीले आफ्नो परिवार चलाउने गरेको उनले बताइन् ।
‘बसपार्क हुँदा दैनिक राम्रै आम्दानी हुने गथ्र्यो, पाँचजनाको परिवार सजिलै पाल्थ्यो । गाडीका ड्राइभरदेखि बाटोमा हिँड्ने सर्वसाधारण हाम्रा ग्राहक थिए । महानगरपालिकाका सुरक्षाकर्मी आउँदा सामान लुकाउनुपथ्र्यो, तर पनि आम्दानी राम्रै हुन्थ्यो । काठमाडौँ महानगरपालिकाले बसपार्क हटाउने भनेपछि आम्दानीको स्रोत नै बन्द भयो,’ रिमा गुरुङले भनिन् ।
बसपार्क हुँदा विगतमा दैनिक पाँच हजारभन्दा बढी आम्दानी हुने गरेको पेमा शेर्पा बताउँछिन् । अहिले त्यो सुकेर दुई सयमा झरेको उनले गुनासो गरिन् । रत्नपार्कको बसपार्क बन्द र लम्बिँदो निषेधाज्ञाले नाङ्लो पसलेहरूको व्यापार र व्यवसायमा निकै प्रभाव परेको छ । बिहान बेलुका गुजारा चलाउन गाह्रो भइरहेको रीमा बताउँछन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १० : ४७ बजे