४ भदौं ०७८, काठमाडौं ।। ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका अवसरमा आज वसन्तपुरस्थित माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको छ । इन्द्रजात्राको मुख्य दिन आइतबार तल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा भएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
असोज ८ गते शुक्रबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइनेछ । यसै दिन बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ । असोज ८ गते राति १०ः३६ बजे इन्द्रध्वजपातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रूख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आइतबार विधिपूर्वक पूजा आजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ ।
४ आश्विन २०७८, सोमबार
0
Shares
प्रतिक्रिया