
२४ असोज ०७८, ललितपुर । ललितपुर हरिसिद्धि नयाँबजारमा पासो लगाएको डोरी करोडौंमा बिक्री हुने भन्दै एक महिलाको हत्या भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ घर भई हाल नयाँ बजार बस्ने ४५ वर्षीया कमला तामाङको हत्या भएको हो । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय सविन प्रजा, मोरङ पथरी शनिस्चरे नगरपालिका वडा नम्बर ८ मंगलबारेका २० वर्षीय सुमन मगर र उनकी श्रीमती १८ वर्षीय प्रविना प्रजा माझी रहेका छन् ।
गत साउन २५ गते बिहान साढे ६ बजे सुनाकोठीस्थित डेरामा कमलाको शव फेला परेको थियो । कमला मृत अवस्थामा फेला परेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुगेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेपछि थप अनुसन्धान अगाडि बढाएको थियो ।
अनुसन्धानका क्रममा सुमन मगरलाई पक्राउ परेका थिए । उनलाई झण्डै एक महिनापछि असोज २१ गते हरिसिद्धिबाटै पक्राउ गरेको थियो ।
सुमनसँग सोधपुछ गरेपछि प्रहरीले थप दुई जनालाई मकवानपुरबाट पक्राउ गरेको हो । सविन प्रजा र उनकी श्रीमती प्रविना प्रजा माझीलाई प्रहरीले भोलि पल्ट पक्राउ गरेको थियो । आइतबार महाशाखाले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको छ ।
पक्राउ गरी अनुसन्धान गरी उनीहरूमाथि सोधपुछ गर्दा उनीहरूले अन्धविश्वासको लहैलहैमा लागेर हत्या गरेको बताएका छन् ।








प्रतिक्रिया