
२४ असोज ०७८, भक्तपुर । बाबुआमा नभएका, घरबार नभएका र घर छाडेर अलपत्र परेका अनाथ बालबालिकाको संरक्षणका लागि सञ्चालित मानवकल्याण समाज (सेवा घर)को पहिलो बाल शाखा सञ्चालनमा आएको छ ।
सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा भाडाको घरमा ३५ बालबालिका रहेको बाल शाखाको नगर उपप्रमुख जुना बस्नेतले उद्घाटन गरिन् । उनले सडकमा घरबारविहीन भएर हिँडेका सडक मानवलाई आश्रय दिनु कम चुनौतीको विषय नभएकाले यस्ता सामाजिक कार्यमा लाग्नेलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
आफ्नै छोराछोरीले घरबाट निकालेका ती आमाबाबुलाई सडकबाट उठाएर स्वास्थ्य उपचारदेखि पालनपोषणसम्म गर्ने राज्यको दायित्वलाई संस्थाले बोकेकाले राज्यले पनि सहयोग गर्नुपर्ने उनले औँल्याइन् । सो नगरपालिकाले आमाबाबुलाई हेला गर्ने, घरबाट निकाल्ने र पालनपोषण नगर्ने छोराछोरीको सम्पूर्ण सिफारिस रोक्ने निर्णय गरेको बताइन् । सडक मानवमुक्त गर्ने उद्देश्यका साथ जिल्लाको झौखेलमा रहेको मानवकल्याण समाज (सेवा घर)ले घरबारविहीन, सन्तानबाट विछोडिएका, सडकमा रहेका मनोरोगी, यौन दुव्र्यवहारमा परेकालगायत असहाय व्यक्तिका लागि गाँस, बाँस र कपासको व्यवस्था गर्दै आएको छ ।
विसं २०७५ वैशाख २४ गतेदेखि भक्तपुरमा औपचारिक रुपमा सञ्चालनमा आएको समाजले हाल काभ्रेको धुलिखेल र दाङमा पनि शाखा विस्तार गरेको छ । भक्तपुरको नलिञ्चोकमा बाल शाखा सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष सुमित्रा चौलागार्इंले बताइन्। हाल मानवकल्याण समाजको (सेवा घर)मा झौखेलमा ६५, काभ्रेको धुलिखेलमा ४५ र दाङमा ३५ जनाले आश्रय लिइरहेका छन् भने नलिञ्चोकको बाल शाखामा ३५ बालबालिका रहेको उनले जानकारी दिइन् ।
सेवा घरमा अहिलेसम्म ५०० बढीको उद्धार गरिसकिएको, २०० जनालाई परिवार खोजी गरी पुनःमिलन गराइएको र ३८ जनाको सेवा घरमै निधन भएपछि प्रहरी प्रशासनको सहयोग दाहसंस्कार गरिएको उनले बताइन् ।
सङ्घीय, प्रदेशदेखि स्थानीयतहसम्म अहिलेसम्म आर्थिक सहयोग नगरेको यो संस्थालाई भक्तपुर तथा आसपासका जिल्लाका विभिन्न व्यक्तिले जन्मदिन, विवाहोत्सव, पितृको पुण्य तिथिलगायत बेलामा भोजन गराउने, विभिन्न सामग्री सहयोग गर्ने र दाताले दिएको सहयोगबाटै अहिलेसम्म सञ्चालन गर्दै आएको छ ।
प्रहरीदेखि अन्य सरकारी निकायसम्मले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उद्धार र संरक्षण गर्नुपरेमा सेवा घरलाई नै जिम्मेवारी दिने गरेका छन् । उद्धार गरिएकालाई सेवा घरमा पु¥याएपछि व्यक्तिगत सरसफाइ गर्ने, स्वास्थ्य परीक्षण गर्ने, पोशाक परिवर्तन गर्ने, सेवा घरमा राख्ने र मनोपरामर्श दिने गर्दै आएको छ ।
सूर्यविनायक–१० का वडाध्यक्ष शिवराम राउतले मानवीय उद्धारमा लागेको यो संस्था स्थायित्वका लागि भवन निर्माण गर्न सार्वजनिक जग्गाको व्यवस्था गर्न वडाले सहयोग गर्ने बताए ।








प्रतिक्रिया