१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा मानवकल्याण समाजको पहिलो बाल शाखा सञ्चालन   



२४ असोज ०७८, भक्तपुर ।  बाबुआमा नभएका, घरबार नभएका र घर छाडेर अलपत्र परेका अनाथ बालबालिकाको संरक्षणका लागि सञ्चालित मानवकल्याण समाज (सेवा घर)को पहिलो बाल शाखा सञ्चालनमा आएको छ ।

सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा भाडाको घरमा ३५ बालबालिका रहेको बाल शाखाको नगर उपप्रमुख जुना बस्नेतले उद्घाटन गरिन् । उनले सडकमा घरबारविहीन भएर हिँडेका सडक मानवलाई आश्रय दिनु कम चुनौतीको विषय नभएकाले यस्ता सामाजिक कार्यमा लाग्नेलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

आफ्नै छोराछोरीले घरबाट निकालेका ती आमाबाबुलाई सडकबाट उठाएर स्वास्थ्य उपचारदेखि पालनपोषणसम्म गर्ने राज्यको दायित्वलाई संस्थाले बोकेकाले राज्यले पनि सहयोग गर्नुपर्ने उनले औँल्याइन् । सो नगरपालिकाले आमाबाबुलाई हेला गर्ने, घरबाट निकाल्ने र पालनपोषण नगर्ने छोराछोरीको सम्पूर्ण सिफारिस रोक्ने निर्णय गरेको बताइन् । सडक मानवमुक्त गर्ने उद्देश्यका साथ जिल्लाको झौखेलमा रहेको मानवकल्याण समाज (सेवा घर)ले घरबारविहीन, सन्तानबाट विछोडिएका, सडकमा रहेका मनोरोगी, यौन दुव्र्यवहारमा परेकालगायत असहाय व्यक्तिका लागि गाँस, बाँस र कपासको व्यवस्था गर्दै आएको छ ।

विसं २०७५ वैशाख २४ गतेदेखि भक्तपुरमा औपचारिक रुपमा सञ्चालनमा आएको समाजले हाल काभ्रेको धुलिखेल र दाङमा पनि शाखा विस्तार गरेको छ । भक्तपुरको नलिञ्चोकमा बाल शाखा सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष सुमित्रा चौलागार्इंले बताइन्। हाल मानवकल्याण समाजको (सेवा घर)मा झौखेलमा ६५, काभ्रेको धुलिखेलमा ४५ र दाङमा ३५ जनाले आश्रय लिइरहेका छन् भने नलिञ्चोकको बाल शाखामा ३५ बालबालिका रहेको उनले जानकारी दिइन् ।

सेवा घरमा अहिलेसम्म ५०० बढीको उद्धार गरिसकिएको, २०० जनालाई परिवार खोजी गरी पुनःमिलन गराइएको र ३८ जनाको सेवा घरमै निधन भएपछि प्रहरी प्रशासनको सहयोग दाहसंस्कार गरिएको उनले बताइन् ।

सङ्घीय, प्रदेशदेखि स्थानीयतहसम्म अहिलेसम्म आर्थिक सहयोग नगरेको यो संस्थालाई भक्तपुर तथा आसपासका जिल्लाका विभिन्न व्यक्तिले जन्मदिन, विवाहोत्सव, पितृको पुण्य तिथिलगायत बेलामा भोजन गराउने, विभिन्न सामग्री सहयोग गर्ने र दाताले दिएको सहयोगबाटै अहिलेसम्म सञ्चालन गर्दै आएको छ ।

प्रहरीदेखि अन्य सरकारी निकायसम्मले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उद्धार र संरक्षण गर्नुपरेमा सेवा घरलाई नै जिम्मेवारी दिने गरेका छन् । उद्धार गरिएकालाई सेवा घरमा पु¥याएपछि व्यक्तिगत सरसफाइ गर्ने, स्वास्थ्य परीक्षण गर्ने, पोशाक परिवर्तन गर्ने, सेवा घरमा राख्ने र मनोपरामर्श दिने गर्दै आएको छ ।

सूर्यविनायक–१० का वडाध्यक्ष शिवराम राउतले मानवीय उद्धारमा लागेको यो संस्था स्थायित्वका लागि भवन निर्माण गर्न सार्वजनिक जग्गाको व्यवस्था गर्न वडाले सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ६ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।