२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीका शक्तिपीठमा भक्तजनको भीड




२७ असोज ०७८, काठमाडौं । नवरात्र अर्थात् बडादसैँको अवसरमा देशभरका देवीमन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
बडादसैँका अवसरमा फुलपातीदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आम मानिस पर्व मनाउन व्यस्त भएका छन् । बिदा भएपछि बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । सामान्य शनिबार पनि मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको फूलपाती भएकाले भक्तजनको लर्को लागेको हो ।
राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराहीलगायत मन्दिरमा भक्तजनको भीड छ ।
उपत्यका बाहिरका देवीमन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड लागेको छ ।
नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । गतवर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गादेवीको पूजा आराधना गर्न आह्वान गरिएको थियो । यसवर्ष भने कोरोनाको जोखिम कम भएको र धेरै मानिसले कोरोना विरुद्ध खोप लगाएकाले भौतिक दूरी कायम गरी देवी मन्दिरलगायत मठ मन्दिर खुला गरिएको छ ।
नवरात्रको सातौँ दिन कालरात्रिको आराधना
दुर्गा पक्षको सातौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिएको छ । यो पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना हुने गर्छ ।
यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।
दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने कूल परम्पराअनुसार यस अवसरमा सेतो अक्षताको टीका लगाउछन् ।
दसैँका अवसरमा बजारमा किनमेल गर्नेको भीड पनि बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्केका छन् । कतिले जाने तयारी गर्न थालेका छन् । यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् । दसैँको मुखमा गत असोज २० गते वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।
बढाइएको भाडा कात्तिक १ गतेदेखिमात्र लिन पाइने भनी वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सूचना जारी गरे पनि अनुगमन गरिएको छैन । नेपालीको महान् पर्व बडादसैँका बेला प्रदेश सरकारको गैर जिम्मेवार निर्णय एवं अनुगमनविहीनताले पीडामा यात्रा गर्न बाध्य भएको त्रिशूली हुँदै रसुवाको यात्रा गर्न लाग्नुभएका यात्रु फुर्वा तामाङले गुनासो गरे ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ५ : ५७ बजे