२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्चीमा एक पुरुषको हत्या गरी आँगनमा गाडेको आरोपमा दुई जना पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

८ कात्तिक ०७८,सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी भागेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । काभ्रे खानीखोला ८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर ७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताएकाछन् ।
गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरिएको अवस्थामा शव फेला परेको थियो । घरअगाडि आँगनमा मानिसको दुवै खुट्टाको औँला मात्र देखिने गरी खाल्डो खनी बालुवाले पुरेको अवस्थामा ६३ वर्षीय दाहालको शव फेला परेको थियो । घरअगाडि शव फेला परेपछि प्रहरीले केनाइन महाशाखा, काठमाडाँैमा समन्वय गरी विशेषज्ञसहित कुकुरको टोली झिकाई अनुसन्धान सुरु गरेको थियो ।
घटनास्थल वरपर रहेका छरछिमेकका मानिसहरुले तीन दिन अघिदेखि मृतकको घरमा दुईजना अपरिचित पुरुष आउनेजाने गर्ने गरेको भन्ने सूचनाका आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रनाउ बस्नेतले बताएकाछन् । मृतक दाहालले प्रयोग गर्ने मोबाइल मृतकका साथमा फेला नपरेको तर मोबाइल भने चालु नै रहेकाले सोही मोबाइलको लोकेसनका आधारमा काभ्रेका मगर पक्राउ परेका थिए । मगरलाई यसै दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको उनले जाकनारी दिएका छन् ।

मगर पक्राउ परेपछि उनकै बयानका आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाडाँैको गोकर्णेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो । मृतक दाहाल र आरोपीहरुबीच दाहालको घर बनाउन ठेक्का लिने सहमति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दाहालको घर भत्काई नयाँ बनाउनुपर्ने भएकाले मृतकसँग ठेक्कामा लिनेदिने र असोज २० गतेबाट काम सुरु गर्ने सहमति भएको थियो । काम सुरु गर्न रु ४० हजार पेस्की दिनेसमेत मौखिक सहमति भएको खुल्न आएको प्रहरीको दाबी छ । सहमति भएपछि आरोपीहरुले दाहालसँग नगदै भएको ठानी सो रकम लुट्नका लागि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

आरोपीहरुले असोज १९ गते राति नै दाहालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपीमध्ये मगरले कोदालोले दाहालको टाउकामा प्रहार गरेको र मृत्यु भएपछि दुवै जना मिलेर मृतककै घरअगाडि आँगनमा खाल्डो खनेर पुरेको प्रहरीको अनुसन्धानले बताएको छ । उनीहरुलाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
–––

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : ०० बजे