९ कात्तिक०७८, काठमाडौँ । काठमाडौँको छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । दुवै घटना यहाँको गोकर्णेश्वर नगरपालिकामा भएको हो ।
यस नगरपालिका ५ जोरपाटीस्थित सडकमा बा६३प ६२०४ नम्बरको स्कुटरलाई बा२ख १३८ नम्बरको ट्याङ्करले आज ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका ४ माकलबारीका ४४ वर्षीय गङ्गाराज राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उनकी छोरी १९ वर्षीया सुष्मा राईको यसै अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच काठमाडौँको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा एक महिलाको आज सुतेकै अवस्थामा मृत्यु भएको छ । यसै ठाउँमा डेरा गरी बस्ने सङ्खुवासभा मकालु गाउँपालिका १ घर भएकी ३५ वर्षीया सञ्जु तामाङ सुतेको ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकोे छ ।
यता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का अनुसार बैंकिङ कसुरमा संलग्न रहेको आरोपमा काभ्रेका सुमन खरेललाई पक्राउ गरिएको छ । उनले एक बैंकको रु एक करोड ७९ लाख बैंकमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरी बैंकको सम्पत्ति अपचलन गरेको आरोपमा पक्राउ गरिएको सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।
उच्च अदालत पाटनबाट म्याद थप गरी उनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खरेल सिन्धु विकास बैंकका शाखा प्रमुखसमेत भएको प्रहरीले जनाएको छ ।
–––
प्रतिक्रिया