३ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो ।
कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिएका छन् । “सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ”, उनले भने ।
यसअघि काठमाडौँका १ सय ३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् । यस्तै काठमाडौँमा यही मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ ।
३ मंसिर २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया