१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपतिमा बाला चतुर्दशी मेला, अनिवार्य मास्क



१५ मंसिर ०७८, काठमाडौं । यस वर्ष पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ । गत वर्ष कोरोना जोखिम तीव्र रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिकरुपमा स्थगित गरेको थियो । यस वर्ष भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला सञ्चालनको तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीको राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत स्थानमा शतबीज छर्ने गर्छन् । यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ ।
यस वर्ष यही मङ्सिर १६ गते राति महादीपदान गर्ने र मङ्सिर १७ गते बिहान शतबीज छर्ने दिन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । यस अवसरमा देशका विभिन्न भागबाट भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्छन् । यहाँ आउन नसक्ने भक्तजनले भने नजिकको शिवालयमा त्रयोदशीको राति महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन् ।
कोरोना जोखिम न्यून भए पनि पूर्णरुपमा नियन्त्रण नभएकाले भक्तजनलाई अनिवार्य मास्क लगाएर पशुपति क्षेत्रमा प्रवेश गर्न कोषले आह्वान गरेको छ । चिसोबाट बच्न भक्तजनका लागि अधिकतम व्यवस्था गर्ने गरी कोषले तयारी गरेको कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए ।

 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १ : ०१ बजे