२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भूकम्पले भत्काएको छ वर्षपछि ठडियो काष्ठमण्डप



१८ मंसिर ०७८, काठमाडौं । ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणको काम भुकम्पले भत्काएको छ वर्षपछि अहिले ९९ प्रतिशत सम्पन्न भएको छ भने यही महिनामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गोरखा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको सम्
पदा छ वर्षपछि पुनःनिर्माण पूरा हुनलागेको हो । विसं २०७५ वैशाख १६ गतेदेखि काष्ठमण्डप पुनःनिर्माण समितिमार्फत निर्माणको काम सुरु गरिएको थियो ।
समितिले शुक्रबार कार्य प्रगतिबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजेश शाक्यले सम्पूर्ण काम सकिएको र काष्ठमण्डपको बाहिरी घेरामा काठको बार लगाउने काम भइरहेकाले उक्त काम सकेपछि राष्ट्रप्रमुखबाट उद्घाटनको मिति तय गरिने जानकारी दिएका छन् ।
“काष्ठमण्डप पुनःनिर्माणको काम लगभग सकियो, केही सानातिना काम मात्र बाँकी छ, यही महिनाको अन्तिमसम्ममा उद्घाटन गर्छौं”, शाक्यले भने । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिबाट निर्माण भएको हो ।
छ जिल्लाबाट ल्याइयो काठ
काष्ठमण्डप पुनःनिर्माणमा तराईका विभिन्न छ जिल्लाबाट ल्याइएका सालको काठ प्रयोग गरिएको बताइएको छ । शाक्यका अनुसार काष्ठमण्डप पुनःनिर्माणमा बारा, पर्सा, महोत्तरी, रौतहट, कञ्चनपुर र चितवनबाट ल्याइएको सालको काठ प्रयोग गरिएको छ । अन्य काठको तुलनामा सालको काठको आयु धेरै (टिकाउ) हुने भएकाले काष्ठमण्डप पुनःनिर्माणमा सालको काठ नै प्रयोग गरिएको शाक्यको भनाइ छ ।
काष्ठमण्डपको मूल थाममा प्रयोग भएको काठ महोत्तरीबाट ल्याइएको हो । ‘काष्ठमण्डपका मूल चार वटा थाममध्ये एउटा थाम पुरानै र तीन नयाँ थाम प्रयोग गरिएको छ । पुरानो थाम हजार वर्ष पुरानो हो भने नयाँ थाम महोत्तरीबाट ल्याइएको अग्राखको हो । पुनःनिर्माणका क्रममा धेरै नयाँ काठको प्रयोग भए पनि केही पुराना काठको पनि प्रयोग भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पुनःनिर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटालगायतका सामग्री प्रयोग गरिएको छ । पुनःनिर्माणका लागि धरहरा र ताहाचलको माटो प्रयोग गरिएको छ । विगतमा काष्ठमण्डपमा प्रयोग गरिएको माटो परीक्षण गर्दा मिल्ने खालको माटो ताहाचल र केही धरहरासँग मिलेको हुनाले यी दुवै ठाउँको माटो प्रयोग गरिएको हो । त्यसैगरी ढुङ्गा, तेलिया इँटा र झिँगटी इँटा भक्तपुरबाट ल्याइएको थियो । तेलिया इँटा भुइँमा र झिँगटी इँटा छानामा प्रयोग गरिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : ०१ बजे