१० पुस ०७८, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरको दरबार क्षेत्र (लायकु) मा अवस्थित ‘नृत्य वत्सला मन्दिर’ को आज उद्घाटन गरेका छन् ।
भक्तपुर नगरपालिकाद्वारा आज शनिबार आयोजित एक कार्यक्रममा उनले सो मन्दिरको उद्घाटन गरेका हुन् । सो मन्दिर २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा क्षति भएको थियो । भक्तपुर नगरपालिकाको लगानीमा मन्दिरको पुनःनिर्माण भएका छन् ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित नृत्य वत्सला मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण सङ्ग्रहित ‘नृत्य वत्सला मन्दिर पुनःनिर्माण २०७८’ नामक पुस्तक पनि सार्वजनिक गरेका छन् ।
सो अवसरमा उनले नेपालका प्राचीन र ऐतिहासिक सम्पदा संरक्षण एवं जीर्णोद्वारमा केन्द्रीय सरकार उदासीन भएको भन्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाए स्थानीय जनताको मर्मअनुरुप काम गर्न सहज हुने बताएका छन् ।
अध्यक्ष बिजुक्छेँले ढुङ्गैढुङ्गाले बनेको शिखर शैलीका वत्सला मन्दिर पुनःनिर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाले गरेको सम्पदा संरक्षण देशकै लागि गौरवको विषय भएको बताए । नयाँ पुस्तालाई सम्पदाको महत्वबारे प्रशिक्षित गर्दै मौलिक सीप र प्रविधिको ज्ञान हस्तान्तरण गर्नु आवश्यक भएको बताउँदै विजुक्छेले भक्तपुर दरबार क्षेत्रमा अवस्थित लाल बैठकलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए । उनले नेपालका सम्पदा अध्ययन अनुसन्धानमा विदेशीको रुचि हुनु स्वभाविक भए पनि नेपाली विद्यार्थीलाई नै यहाँका सम्पदाको विषयमा अध्ययन अनुसन्धान गराउनेतर्फ प्रेरित गर्नुपर्ने बताएका थिए ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भक्तपुरको सम्पदा संरक्षण भक्तपुरवासी जनताले आफ्नो साझा दायित्वको रुपमा लिएको बताउँदै सम्पदा संरक्षणसम्बन्धी भौतिक व्याख्यासहितको अभिलेख तयार हुनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुर नगरपालिकाले पुराना इतिहासको पुनःजागरण र पुनर्लेखन गर्ने कार्य गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रतिकूल अवस्थामा पनि स्थानीय जनताको सहयोगमा उपभोक्ता समितिमार्फत वत्सला मन्दिर पुनःनिर्माण सम्पनन गरेको बताउँदै नगरपालिकाले रु एक करोड २८ लाख ६२ हजार लगत इस्टमेट पारित गरे पनि उपभोक्ता समितिले रु ७७ लाख १३ हजारको लागतमा पुनःनिर्माण सम्पन्न गरेको उल्लेख गर्नुभयो ।
भक्तपुर नपाले पर्यटक शुल्कको अधिकांश रकम सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यजस्ता विषयमा खर्च गर्दै आएको बताउनुहुँदै उहाँले विदेशी सहयोग, गैरसरकारी संस्था(एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था (आइएनजिओ) को सहयोगबिना पनि स्थानीय जनताकै सहयोगमा सम्पदाको जीर्णोद्वार र पुनःनिर्माण सम्भव छ भन्ने उदाहरण भक्तपुर नगरपालिकाले देखाएको दाबी गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी, संस्कृतविद् तेजेश्वरबाबु ग्वंग, पुनरावेदन अदालतका सेवा निवृत्त न्यायाधीश गौरीबहादुर कार्की, इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ, भक्तपुर पत्रिकाका सम्पादक लक्ष्मणराज जोशी, वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वलगायतले आफ्नै लगानीमा नगरपालिकाले भूकम्पपछि गरेका पुनःनिर्माणले यहाँको सम्पदा संरक्षणमा टेवा पुगेको चर्चा गर्नुभयो ।
–––
प्रतिक्रिया