११ पुस ०७८, काठमाडौँ । पुस १६ गतेदेखि वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला हुने भएको छ । भूकम्पका कारण आंशिक क्षति भएको गद्दी बैठक जिर्णोद्धार सम्पन्न भइसकेको छ । मर्मतपछि ऐतिहासिक उक्त बैठक ग्यालरीसहित सञ्चालन गर्न लागिएको हो ।
ग्यालरीमा पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि हालसम्म आइपुग्दा राजनीतिक परिवर्तका विषय समेटेर विभिन्न कालखण्डका लिखित दस्तावेज राखिने हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी गराएको छ । यस अवधिका प्राप्त गर्ने सके जतिका फोटो पनि अवलोकनका लागि ग्यालरीमा राख्ने तयारी भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।
उक्त ऐतिहासिक कागजात विद्यार्थी, अवलोकनकर्ता र अनुसनधानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुने विश्वास अड्डाको रहेको छ । जिर्णोद्धारपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले केही समय लागेको बताइएको हो । ‘सांस्कृतिक धरोहर’समेत रहेको बैठक सर्वसाधरणका लागि खुला हुँदा यसको झनै महत्व बढ्ने आशा गरिएको छ । भूकम्पबाट क्षति भएको गद्दी बैठकको तीन वर्षअगावै जीर्णोद्धार सकिएको सम्पन्न भएको थियो ।
गद्दी बैठक काठमाडौँ दरबार क्षेत्रमा अवस्थित छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरबार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीर विक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक छन् । त्यस क्षेत्रमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डपलगायत महत्वपूर्ण स्मारक रहेका छन् ।
अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले जिर्णोद्धार गरेको गद्दी बैठक २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो । तत्कालीन समयमा विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक ) निर्माण गरिएको थियो ।
प्रतिक्रिया