२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वाग्मती सफाई अभियान : शङ्खमूलबाट झिकियो चार मेट्रिक टन फोहर



काठमाडौंको शंखमुल नजिकको फोहोर वागमती नदि । तस्विर : ललितपुर खबर

२५ पुस ०७८, ललितपुर । शङ्खमूल क्षेत्रको वाग्मती किनार दायाँबायाँ सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४५२औँ हप्तामा शनिबार गरिएको सफाइमा पुसको चिसो बेवास्ता गरी अभियानकर्मी बिहान ७ बजे नै नदी किनारमा जम्मा भएका थिए । सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका ११ का अध्यक्ष हीरालाल तन्डुकार, विभिन्न सङ्घसंस्था, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो ।
सफाइबाट जम्मा भएको फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिएका छन् । अर्को हप्ता माघ १ गते शनिबार शङ्खमूल पुल क्षेत्रमा बिहान ७ः३० देखि ९ः३० बजेसम्म सफाइ गरिने छ । माघेसङ्क्रान्ति पर्वको दिन परे पनि सफाइ महाअभियान नरोकिने उनले जानकारी दिएका छन् ।

विसं २०७० जेठ ५ गतेदेखि महाअभियान सुरु भएदेखि चाडपर्व, चिसो, गर्मी, प्राकृतिक प्रकोपलगायत जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, चक्रपथ, मुख्य सांस्कृतिक सम्पदास्थललगायतमा पनि सफाइ अभियान सुरु भएको छ ।
हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी, सहर र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १ सय ९ स्थानमा सफाइ अभियान सुरु भएको जनाइएको छ । मनोहरा सफाइ अभियानको २ सय ५१औँ हप्तामा काठमाडौँ महानगरपालिका ३२ स्थित जडीबुटी पुल छेउको नदी किनारमा सफाइ गरिएको छ । सफाइमा विभिन्न संस्था, प्रहरी र स्थानीयवासी गरी १ सय जनाको सक्रियता रहेको थियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले दिएका छन् ।
यसैगरी राजधानीको रुद्रमती, चक्रपथको उत्तरी र पश्चिमी खण्ड, विष्णुमतीको तल्लो र माथिल्लो भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत नदीमा पनि शनिबार सफाइ गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ५४ बजे