१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


११.२३ प्रतिशतले घट्यो काठमाडौं महानगरको जनसंख्या



१२ माघ ०७८, काठमाडौँ । काठमाडौं महानगरको जनसंख्या घटेको छ। काठमाडौं नेपालको सर्वाधिक जनसंख्या भएको महानगरपालिका हो। तर यसमा जनसंख्या ११.२३ प्रतिशतले घटेको छ। 

सन् २०११ को अघिल्लो जनगणनाअनुसार त्यसबेला काठमाडौं महानगरको मात्र जनसंख्या ९ लाख ७५ हजार ४५३ थियो। जसमा पुरुषको संख्या ५ लाख ११ हजार ८४१ र महिला संख्या ४ लाख ६३ हजार ६१२ थियो। केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८’ को प्रारम्भिक नतिजा अनुसार काठमाडौं महानगरको जनसंख्या एक दशकमा घटेर ८ लाख ६५ हजार ९०६ मा झरेको छ।

देश संघीयतामा गइसकेपछि आर्थिक अवसरको केन्द्रका रुपमा रहेको राजधानी सहर काठमाडौं उपत्यकाकेन्द्रित जनसंख्या विकेन्द्रिकृत हुन थाल्ने एक किसिमको आकलन थियो। अहिले उपत्यकाको काठमाडौं महानगरको जनसंख्या घट्नुको खास कारण संघीय व्यवस्था रहेको यकिन छैन। बरु २०७२ को भूकम्पपछि भने शहरको केन्द्रमा रहेका घना र पुराना बस्तीहरुमा बस्ने धेरै परिवारहरु उपत्यकाका बाहिरी बस्ती र काँठतिर सरेका उदाहरणहरु प्रशस्तै देखिएका थिए। यसले पनि अहिले काठमाडौं महानगरको जनसंख्या घटाउनमा मद्दत गरेको हुनसक्छ।

समग्रमा भने काठमाडौं जिल्लाभरका बासिन्दाको संख्या २० लाख १७ हजार ५३२ पुगेको छ। यो देशभरमै सबैभन्दा धेरै जनसंख्या भएको जिल्लासमेत हो।

यस्तै, २०६८ सालको जनगणनाले २ करोड ६५ लाखनजिक रहेको नेपालको जनसंख्या अहिले २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको विभागले जनाएको छ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : २८ बजे