१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नख्खु–बुङमती सडक चैतसम्ममा नै सम्पन्न गर्न निर्देशन



फाइल तस्बिर

२४ माघ ०७८, काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नख्खुबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक चैतसम्ममा सम्पन्न गर्न निर्देशन दिएकी छन् । सोमबार सडकको अवलोकन गर्न पुगेकी मन्त्री यादवले निर्माणस्थल खाली भइसकेकाले सो अवधिमा सम्पन्न गर्न समस्या नरहेको बताइन् । विस्तारका क्रममा रहेको सो सडकमा केही ठाउँमा निर्माणस्थल खाली हुन नसकेकाले ५÷६ वर्षसम्म काम नभएको उनले बताइन्। अहिले निर्माणस्थल खाली गरिसकिएकाले चैतसम्ममा सम्पन्न हुने उनको भनाइ छ । उनले भनिन्, ‘भिआइपी एरिया पनि भएकाले सबै सक्रिय भएर लाग्दा समयमा काम सकिनेछ ।’

विगतका वर्षहरुमा निर्माण सुस्त भए पनि आफूले मन्त्रालय सम्हालेपछि त्यहाँ रहेका अवरोध हटाएर निर्माणको वातावरण बनाउन लागेको मन्त्री यादवले बताइन् । उनका अनुसार केही समय पहिलेसम्म सडकमा नै घर, पर्खाल लगायतका संरचना थियो । त्यो हटाउनेसँगै सडकमा रहेका पाइप, ढल हटाइसकिएकाले अहिले काम द्रुत रहेको उनले बताइन् । सडकमा अरू अवरोध नभएको र यहाँको आयोजना र निर्माण व्यवसायी काम सकाउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । उनले भनिन्, ‘अब सडकमा कालोपत्र मात्रै बाँकी भएकाले दुई महिनामा काम सकिन्छ ।’

सो सडक दुई ठेक्कामा निर्माण भइरहेकामा दुवै ठेक्कामा निर्माण अघि बढिरहेको छ । दुवै ठेक्कामा संलग्न निर्माण कम्पनीहरुलाई सडक चैतसम्म सक्न निर्देशन दिइएको छ । केही महिनादेखि मन्त्रालय टोली निर्माणाधीन सडकको अनुमगनका लागि खटिएको र ठाउँठाउँमा पुगेर त्यहाँको सडकको अवस्थाका बारेमा जानकारी लिइरहेको उले बताइन् । कुनै पनि सडकमा सम्बन्धित प्रदेश र स्थानीय तहले पनि अनुगमन गर्नुपर्नेमा उनको जोड छ ।

मन्त्री यादवसँगै भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटा लगायतका कर्मचारी सहभागी थिए । पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ देखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । पहिलो ठेक्काको सम्झौता विसं २०७३ असारमा र दोस्रो ठेक्का सम्झौता विसंं २०७४ साउनमा भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : १९ बजे