११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर नगरको एघारौँ नगरसभा सुरु



२६ माघ ०७८, भक्तपुर । भक्तपुर नगरपालिकाको एघारौँ नगरसभा आजदेखि सुरु भएको छ । बैठकमा नगरप्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकता र सहयोगी भावनाले भक्तपुरको विकास र प्रगति सम्भव भएको बताएका छन् ।
विचार र सिद्धान्तमा अडिग रही इमान्दारीपूर्वक जनताको सेवा गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै उनले सभामा सबै सदस्यको सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् । उनले संसदीय निर्वाचनमा तीन प्रतिशत मत प्राप्त नगरेका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनमा दलीय हैसियतबाट चुनाव चिह्न नदिने निर्वाचन आयोगबाट षड्यन्त्र भइरहेकोबारे सभासद्लाई सचेत पार्दै घोषणापत्रअनुसार कार्य नगर्ने सबै राजनीतिक दल पनि खारेज हुनुपर्ने बताए ।
आव २०७८÷७९ को बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी गराउँदै उनले भक्तपुर नगरले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायत नगर र नगरवासीको जीवनसँग प्रत्यक्ष जोडिएका विषयका साथै थुप्रै विकास निर्माणका काम सम्पन्न गरिसकेको बताएका छन् ।
केन्द्र र प्रदेशले स्थानीय तहलाई दिने विशेष अनुदानमा वृद्धि गर्नुपर्नेमा उल्टै सःशर्त र समपूरक बजेटमा वृद्धि गर्नु सङ्घीयता र संविधानको भावनाविपरीत भएको बताउँदै प्रमुख प्रजापतिले स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिई केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गरी पठाउनु, प्रदेशले कर्मचारीको सरुवा बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप भएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
यसअघि सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले जनसहभागिता, जनश्रमदान, जनताको सहयोगमा जनताको सेवा गर्ने अग्रजको मार्गनिर्देशनअनुसार नेमकिपाका जनप्रतिनिधिले कार्य गर्नुपर्ने बताए ।
सांस्कृतिक नगरका नगरवासी परम्परागत र अन्धविश्वास नभई विज्ञान र प्रविधिमैत्रीसमेत हुने भएकाले सोहीअनुसार नगरवासीको सांस्कृतिकस्तर उकास्नुपर्नेमा उनले जोड दिए । सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि स्थानीय तहलाई स्वायत्तता प्रदान गरी विकेन्द्रीकरणको सिद्धान्तलाई लागू गर्नुपर्ने उनले बताए । अनावश्यक सवारीसाधनमा अत्यधिक खर्च गरी पूँजी निर्माण नहुने हुँदा यस्ता क्षेत्रमा मितव्ययिता अपनाई देशको आन्तरिक उत्पादन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा उनले जोड दिए ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले जनताको निःस्वार्थरुपमा सेवा गर्नु नेमकिपाको परिचय बनिसकेको बताए । उनले जनताको मन जितेर देशको भावना र आवश्यकताबमोजिम नेमकिपाले समाजवादी मर्मअनुसार काम गर्दै आइरहेको दाबी गर्नुभयो । एमसिसीविना यो देश विकास सम्भव छैन भन्ने दास मानसिकता शासक दलमा रहेको उनले आरोप लगाएका छन् ।

नगर उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिक्षामा गरेको प्रगतिबाट ‘ख्वप मोडल’ विकास गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा वडा नं ७ का वडाअध्यक्ष उकेश कवाँ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वालगायतले नपाले गरेको असल र सफल कामबारे समीक्षा गर्न नगरसभाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
–––

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ०९ बजे