२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


युरेनियम जस्तो देखिने पदार्थसहित बौद्धबाट ८ जना पक्राउ



४ फागुन ०७८, काठमाडौं ।  काठमाडौं महानगरपालिका-६ बौद्धस्थित हायत रिजेन्सी होटेलको कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुर महानगरपालिका-१४ घर भएका ६० वर्षीय नवराज महत, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, सिरहा वरियापारपट्टी गाउँपालिका-१ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्र प्रसाद चौधरी, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर रहेका छन् ।

काठमाडौं बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई यूरेनियमको संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त पार्किङस्थलमा राखेको बा.५ च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थ सहित भुपेन्द्र र नवराजलाई फेला पारी पक्राउ गरेको थियो । साथै उनीहरूसँगको सोधपुछका क्रममा उक्त पदार्थलाई उनीहरूले भारतबाट ल्याई प्रति केजी ३५ करोड रुपैयाँ मूल्यमा विक्री गर्न लागेको र उक्त कार्यमा अन्य ६ जना व्यक्तिहरूको समेत संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उक्त कार, बा.२६ प १६२८ नम्बरको मोटरसाइकल, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचयपत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको छ ।

उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्धामा ७ दिन म्याद थप अनुमति प्राप्त गरी महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको   छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ५१ बजे