२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको आश्राङ र गिम्दीमा प्रजनन स्वास्थ्य शिविर



२८ फागुन ०७८, ललितपुर । दक्षिण ललितपुरको आश्राङ र गिम्दीमा प्रजनन स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्वास्थ्य शिविरको उद्घाटन वागमती गाँउपालिकाका वडाध्यक्षहरु लाल बहादुर भोम्जन र नवराज सन्जेलले गरे ।
११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर परिर्वतनका लागि सहकार्य नेपालले मंगलबार र बुधबार दक्षिण ललितपुरको आश्राङ र गिम्दीमा प्रजनन स्वास्थ्य शिविर आयोजना गरेको हो ।
स्वास्थ्य शिविर वागमती गाँउपालिकाका वडा कार्यालयहरुको समन्वय र सहकार्यमा संचालन गरिएको हो । आश्राङ र गिम्दीका महिला तथा किशोरीहरुको प्रजनन स्वास्थ्य र पाठेघर खस्ने रोग तथा पाठेघरको मुखको क्यान्सरको समस्यालाई दृष्गित गरेर शिविर सञ्चालन गरिएको थियो ।


भौगोलिक विकटताका कारण प्रजनन स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका यी वडाका महिला तथा किशोरीहरुको प्रजनन स्वास्थ्यमा शिविरले उल्लेखनीय सहयोग पुगेको सहकार्य नेपालले बताएको छ ।
शिविरअघि टोलटोलमा पुगेर महिला समूह र विद्यालयहरुमा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण गरिएको थियो ।
वागमती गाँउपालिका ७ आश्राङका वडा अध्यक्ष नवराज सन्जेलले शिविरमा पाठेघर खस्ने तथा पाठेघरको क्यान्सरबाट पीडित महिलाहरु आर्थिक अवस्था एकदमै कमजोर रहेको बताउदै त्यस्ता महिलाहरुलाई वडा र परिवर्तनका लागि सहकार्य नेपाल मिलेर निशुल्क उपचारको लागि सहयोग गर्ने बताए ।
शिविरमा स्तन क्यान्सर पहिचानको लागि स्वास्थ्य जाँच, सुगर तथा प्रोटिनको स्तर मापनको लागि पिसाब जाँच, पाठेघरको क्यान्सरको पहिचानको लागि आवश्यक टेस्ट (बायोप्सी, प्यापस्मियर), भिआइए परिक्षण, क्रायोथेरेपी जस्ता स्वास्थ्य सेवाहरु निःशुल्क दिइएको थियो । शिविर २३२ जनाले सेवा लिएको परिवर्तन नेपालले जनाएको छ ।
शिविरमा जाँच गर्दा अधिकांश महिला तथा किशोरीहरुमा सरसफाईको कमीका कारणले योनीमा संक्रमण पाइएको डाक्टरहरुले बताएका थिए
शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर मनिला श्रेष्ठ र डाक्टर सरिता खाइजुसहित ८ जना मेडिकल टिमले खटिएका थिए ।
शिविरको प्राविधिक सहयोग र परामर्श नेपाल प्राकृतिक तथा नेपाल प्राकृतिक तथा मानव स्रोत विकास संघले गरेको थियो ।

स्वास्थ्य चौकीमा उपचारको लागि आवश्यक स्रोतसाधन नभएको र घरदैलोमै आएर स्वास्थ्य सेवा प्रदान गरेको भन्दै वडाध्यक्ष लालबहादुर बम्जनले धन्यवाद व्यक्त गरे ।
शिविरमा १४ जनालाई रिङ पेशरी सहयोग गरिएको थियो भने एक जनालाई शिविरमै क्रायोथेरेपि प्रदान गरिएको थियो ।
डाक्टर सरिता खाइजुले विभिन्न परिक्षणको लागि लिएका स्याम्पलहरुको रिपोेर्ट भने १५ दिनमा मात्र आउने जानकारी दिइन् ।
परिवर्तनका लागि सहकार्य नेपालकी कार्यकारी निर्देशक इन्दिरा घलेले नेपालका कतिपय ठाउँहरुमा अझै पनि प्रजनन स्वास्थ्य सम्बन्धि सचेतनको कमिका कारण महिला तथा किशोरीहरु चेकजाँच गराउन लजाउने गरेको बताइन् उनले भनिन्,‘यसले गर्दा पछि पाठेघरको क्यान्सरजस्तो भयावह रोग लाग्ने लाग्छ । रोगहरुको रोकथाम गरेर महिला तथा किशोरीहरुको संरक्षणको लागि समुदायमा सचेतना फैलाउन आति आवश्यक रहेको छ ।’

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १० : ०१ बजे