२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धपाखेलमा बन्यो ललितपुर महानगर २३को आफ्नै भवन




११ चैत्र ०७८, ललितपुर । ललितपुरको धापाखेलस्थित ललितपुर महानगरपालिका वडा नम्बर २३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । उर्जामन्त्री तथा ललितपुरकी सासंद पम्फा भुसालले शुक्रबार उद्घाटन गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले अपाङ्गमैत्री आधुनिक भवन बनेको र अबका दिनमा जनताले गुणस्तरीय सेवा पाउनुपर्ने बताए । उनले महानगरपालिकाले निरन्तर जनताका कामलाई विशेष प्राथमिकता दिने विश्वाससमेत व्यक्त गरे । सो अवसरमा भवन निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । वडाध्यक्ष भुयुकाजी महर्जनले वडा कार्यालय भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पु¥याएको बताइन् ।

उनले भनिन्, “पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको छ ।” स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही तवरले प्रयोग गरेर जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिइन् । उनले भनिन्, “कानुन पनि नभएको अवस्थामा जनताको आकांक्षालाई सम्बोधन गर्न गाह्रो थियो, अनुभव पनि थिएन, यद्यपि पाँच वर्षमा स्थानीय सरकारले धेरै काम गरेका छन् ।”
जनताले घर नजिकैबाट सेवा पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री भुसालले परिवर्तनको आन्दोलनमा आफूहरूले जीवन खर्चिएको र परिवर्तनका एजेन्डा कार्यान्वयन गर्ने अवसर पाएकाले त्यसलाई स्थानीय जनप्रतिनिधिले भरपुररुपमा सदुपयोग गर्नुपर्ने बताइन् । ललितपुर महानगरपालिका र त्यसअन्तर्गतका वडा मात्र नभई देशभरका स्थानीय सरकारले जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेर स्थानीय सरकारले जनताको सेवा गर्नु पर्ने बताइन् ।
ठेकेदारका कारण कतिपय भौतिक पूर्वाधारका काममा ढिलाइ हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले जनताले आफ्नो अधिकारका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताइन् । उनले भनिन्, “जनप्रतिनिधिले आफ्ना जनताका लागि योजना पार्ने हो, बजेट छुट्याउने हो, त्यसपछि खरिद प्रक्रियामा जान्छ, त्यसपछि स्थानीय उपभोक्ताले विशेष चासो राख्नुपर्छ ।” जनताको आवश्यकताको आधारमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आफूले विनास गरेरभन्दा पनि संरक्षण गर्दै विकास गर्ने सोचका आधारमा अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : १६ बजे