
२२ चैत ०७८, उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा उनकै सहपाठीको संलग्नता देखिएको प्रहरीले दावी गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।प्रहरीका अनुसार प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान तिनैजना सँगै निस्किएका थिए । ‘विनोद त्यो स्कुलमा पढ्ने होइनन्, तर बहिनीलाई पुर्याउन भन्दै गएका थिए’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बाटोमा विवाद बढ्यो र सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको पाइएको छ ।’
प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा पनि बरामद गरेको छ । शवलाई पोष्टमार्टमका लागि लैजाने प्रहरीको तयारी छ ।







प्रतिक्रिया