
२७ चैत ०७८, काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथलाई आज असनबाट तानेर वसन्तपुर पुर्याइँदै छ । रथयात्रामा सयौँको सहभागिता देखिएको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ ।रथयात्रा अगाडि काठमाण्डौ इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर हिजो दरबारमार्गमा पुर्याइएको थियो । यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ ।रथलाई सहरको भित्री भागमा तीन दिनसम्म घुमाउने गरिन्छ ।
सेतो मच्छिन्द्रनाथको रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहाल लगेर अन्त्य गर्ने चलन छ । यो यात्रा भएपछि वर्षा र सह हुने धार्मिक विश्वास रहेको छ ।सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले पहिलो दिन हिजो रथ असन पुर्याइएको जनाएको छ । रथ असन पुगेपछि अहिले पूजा, आराधना गर्ने भक्तजनको भिड लागेको छ । आज दोस्रो दिन रथलाई असनबाट तानेर वसन्तपुरमा रहेको कालभैरवअघि लगिन्छ ।तेस्रो दिन भोलि वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ ।







प्रतिक्रिया