१९ वैशाख, ०७९, ललितपुर । ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दिएका हरिकृष्ण व्यञ्जनकारले ५९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
महानगर विकासका ५ स्तम्भ समेटेर व्यञ्जनकारको चुनावी प्रतिविद्धता सोमबार सार्वजनिक गरेका हुन्। उनले महानगरीय अस्पताल र शिशु स्याहार केन्द्रदेखि द्वन्द्व व्यवस्थापन परामर्श केन्द्र सञ्चालन गर्ने उल्लेख छ।
सार्वजनिक एवं सरकारी सम्पतिको अभिलेख संकलन, संरक्षण र व्यवस्थापन गरिने, पालिकाभित्र अस्थायी बसोबास गर्ने स्वदेशी तथा विदेशी नागरिकहरूको अनिवार्य रजिष्टेशन,सेवाहरुको विकेन्द्रीकरण नीतिदेखि सहरी गरिबहरूका लागी विद्युत् एवं खानेपानीमा पहुँच समेत व्यञ्जनकारले आफ्नो प्रतिवद्धतापत्रमा समेटेका छन्।
त्यस्तै पुँजी निर्माण र परिचालन, वित्तीय साक्षरता कार्यक्रम र युवा उद्यमशीलतासँग सहकारी, प्रत्येक घरहरूमा घर नम्वरिङ गरी सेवा प्रवाह तथा सूचना प्रणालीलाई व्यवस्थित तुल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
यस्तै प्रत्येक वडामा कम्तीमा विभिन्न ३ स्थानमा फ्रि वाईफाईको व्यवस्था गर्ने सहुलियत मूल्यमा विद्युतीय चुल्हो, पर्यावरणमैत्री शहरका लागी विद्युतीय सवारी प्रवर्धन लगायत बुँदा समेटेका छन्।
उनले सीपमूलक तालिम लिएर सोही पेशा व्यवसाय गर्नेलाई पालिकाको सम्पूर्ण कर पाँच वर्षसम्म छुट दिनुका साथै विदेशमा आर्जन गरेको ज्ञान, सीप, दक्षताका आधारमा सोही पेशा व्यवसाय गर्नेलाई पालिकाको सम्पूर्ण कर पाँच वर्ष सम्म छुट दिने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया