२४ वैशाख ०७९, काठमाडौं । वाग्मती सफा महाअभियानको ४६९औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नदीमा सफाइ गरी पाँच मेट्रिक टन फोहोर निकालिएको गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका ९ का पूर्ववडा सदस्य टेकराज अधिकारी, तिलगङ्गा महिला समूह, सिभिल क्यापिटल मर्चेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत झनक ढुङ्गेल, काठमाडौँ महानगरपालिका फोहोर व्यवस्थापन विभाग टेकु, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासी एवं वाग्मती सफाइ अभियानकर्मी लगायतको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
सो अवसरमा सिभिल क्यापिटल मर्चेन्ट प्रालिबाट अधिकार सम्पन्न वाग्मती समितिलाई ५० थान ठूलो पञ्जा हस्तान्तरण गरिएको थियो । अर्को शनिबार पनि सिनामङ्गलस्थित वाग्मती पुलको ५०० मिटर दक्षिण वाग्मती किनार मा बिहान ७ देखि ९ बजेसम्म दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ गरिने जनाइएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानीबाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ ।
अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन । फोहोर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहोर उठेको छैन । सांस्कृतिक सहरका रुपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहोर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।
पर्यटकीय सहर पोखरामा समेत लामो समयदेखि फोहोर नउठ्दा पनि स्थानीय सरकार मौन बसेका छन् । फोहोर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन् । काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहोर फाल्न थाल्दासमेत स्थानीय सरकार मुकदर्शक बनेका हुन् ।
स्थानीय सरकार फोहोर व्यवस्थापन आफ्नो काम होइन जस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आम समुदायमा आह्वान गरेका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन् ।
स्थानीय तहको दोस्रो निर्वाचन आउन दुई हप्तामात्र बाँकी रहँदा राजधानी काठमाडौँमा फोहोर व्यवस्थापनको विषयमा बहस चलेको छ । दलले फोहोर व्यवस्थापनलाई मुख्य बुँदाका रुपमा उठाएका छन् । निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको अभियानकर्मी कञ्चन राउत बताउछिन् ।
यसैबीच आइतबार अभियानकर्मीले काठमाडौँ उपत्यकाका स्थानीय तहबाट प्रमुख र उपप्रमुखको उम्मेदवार बनेकासँग नदी सफाइका विषयमा अन्तरक्रिया गर्ने भएको छ । कार्यक्रममा उम्मेदवारको नदी, पुरातात्विक सम्पदा एवं सहर सफाइका विषयमा ठोस प्रतिबद्धता खोजिने अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए ।
२४ बैशाख २०७९, शनिबार
0
Shares
प्रतिक्रिया