२७ वैशाख ०७९, भक्तपुर । भक्तपुरमा हाल कायम रहेका मतदान स्थल व्यवहारिक नभएको सम्बन्धित निकायहरूले बताएका छन् । जिल्लाका प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार जिल्लामा हाल कायम रहेका केही मतदान स्थल सार्नु पर्ने देखिएका हुन् ।
उनका अनुसार २० देखि २२ स्थलहरू हाल कायम रहेका स्थानबाट अन्यत्र सार्नु पर्ने देखिन्छन् ।मतदाताको सङ्ख्या बढ्ता समस्या देखिएको मुख्य निर्वाचन अधिकृत बास्तोलाले बताए । कतिपय विद्यालयको चौर एकातिर भवन अर्कोतिर फर्किएको छ, कहीँ पोखरीको किनारमा छ, कहीँ निकै सानो ठाउँ भएकाले ती स्थलहरू परिवर्तन गर्नु पर्ने सुझाव आएको उनले बताए ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले मतदान स्थल परिर्वतनको लागि आएको सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायमा पठाउने बताइन् ।
खुल्ला ठाउँ पालको व्यवस्था गरेर निर्वाचनको दिन सहज बनाउन, मतपेटिका, मतपत्र सुरक्षित राख्न आवश्यक सबै प्रक्रिया गर्न सबैको निर्देशन दिइसकेको उनले बताइन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार जिल्लामा सर्वदलीय बैठक गरेर केन्द्रीय निर्वाचन आयोगमा पठाउनु पर्दछ । त्यसपछि सुरक्षा संयन्त्रले सार्न सुरक्षाको दृष्टिकोणले उचित छ भन्ने राय दिएमा ती स्थलहरू अन्यत्र सार्न सकिन्छ ।
भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ ।
प्रतिक्रिया