७ जेठ ०७९, भक्तपुर । एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासी २ भक्तपुरका विद्यार्थीले शुक्रबार मुठीदान गरेका छन् ।
विद्यार्थीमा दानको भावना जगाउन मुठी दान गरेको स्कुलले जनाएको छ । बुद्ध संवत २५६६ को बुद्ध जयन्तीको अवसरमा स्कुलमा प्लेग्रुपदेखि कक्षा १० सम्मका एक हजार दुई सयभन्दा वढी विद्यार्थीले दान गरेका हुन् ।
विद्यार्थीले आआफनो गच्छेअनुसार भेटी, विस्कुट, चामल, फलफूललगायतका दान गरेका थिए । मुठीदान कार्यक्रमका लागि स्कुलले भक्तपुरको इनाचोस्थित मुनि विहारमा रहेका भिक्षु तथा श्रामनेरहरुलाई निमन्त्रणा गरिएको थियो ।
दान लिनका लागि त्यहाँंका ३७ जना भिक्षु तथा श्रामनेरहरू स्कुल पुगेका थिए । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा विद्यार्थीलाई मुठीदान गराउँदै आएको जनाए ।
२०७१ सालदेखि प्रत्येक वर्ष विद्यार्थीले मुठी दान गर्दै आएको स्कुलले जनाएको छ । कोरानाको कारणले दुई वर्ष यो कार्यक्रम स्थगित भएको थियो । दान गर्नुअघि विद्यार्थीले प्रार्थना गरेका थिए ।
हिंसा नर्गनु, झुठो नबोल्नु, व्यभिचारी नबन्नु, चोरी नगर्नु, मादक पदार्थ नखानु जस्ता बुद्धको सन्देशसहित उनीहरुले प्रार्थना गरेका थिए । दानमा सहभागी कक्षा ३ का विमोचन वाग्लेले आफूले फलफूल अनि बिस्कुट दान गरेको बताए । कक्षा ७ की अर्की छात्रा सौम्यता अधिकारीले दान गर्न पाएकोमा भित्री मनदेखि खुशी लागेको बताइन ।
स्कुलकी परियति शिक्षा संयोजक सुदिपा शाक्यले २०७१ सालदेखि स्कुलमा परियति शिक्षा पनि अध्यापन गर्दै आएको जनाइन् । स्कुलमा कक्षा ५,६ र ७ का विद्यार्थीलाई परियति शिक्षा अध्यापन गराउँदै आएको उनले जनाइन् ।
८ जेष्ठ २०७९, आइतबार
0
Shares
प्रतिक्रिया