२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन दरबार क्षेत्रको पूर्वाधार निर्माणमा एकीकृत योजना



११ जेठ ०७९,ललितपुर।  ललितपुरको पाटन दरबार क्षेत्रमा भौतिक पूर्वाधार निर्माण कार्य एकीकृत योजनासहित भइरहेको छ। खानेपानी तथा ढल निकास, विद्युत् र टेलिकमबीच समन्वय गरेर एकैसाथ काम अघि बढाइएको हो।

फोन र बिजुलीका लाइनहरू भूमिगत गर्ने, त्यसपछि मात्रै ढल र आवश्यक सडक बनाउने कार्य एकैपटक गर्नेगरी एकीकृत भौतिक पूर्वाधार निर्माणको थालनी गरिँदा दरबार क्षेत्रमा यसपटकको वर्षायाममै सुखद नतिजा देखिने महानगरपालिकाले जनाएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीका पाइपलाइनहरू बिछ्याउने काम सुरु  गरेका छन्। पीआईडी अन्तर्गतको काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन परियोजनाबाट ढलका पाइप बिछ्याउने कार्य सुरु भएको छ।

साथै विद्युत प्राधिकरणमार्फत बिजुलीका तार भूमिगत गर्न ५ वटा एचडीपीई पाइप बिछ्याउने कार्यको पनि सुरुवात भएको महानगरपालिकाले जनाएको छ।

नेपाल टेलिकमबाट फोन लाइनहरू भूमिगत गर्न डक्टहरू बिछ्याउने कार्य पाटन क्षेत्रमा एकीकृत रूपमा भइरहेका छन्। यसले विगतका वर्षहरूमा जस्तो वर्षातमा पाटन दरबार क्षेत्र र आसपासका सडक जलमग्न हुने तथा प्लाष्टिक लगायतका ठोस पदार्थहरू ढल तथा मङ्गालमा जम्मा भई जाम हुने समस्या निदान हुने जनाइएको छ।

एकीकृत योजनाअनुसार करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पनि महानगरले जानकारी दिएको छ। यसअन्तर्गत इटि टोलदेखि सोथः सम्म तथा लगनखेलदेखि पाटन दरबार क्षेत्र र सोथःहुँदै शंखमूलसम्म २.८ किलोमिटर क्षेत्रमा १,४०० एमएम (आरसीसी) र १,००० एमएम (डबल वालको रोगेटेड-डीडब्ल्युसी) मोटाईका पाइप बिछ्याएर शंखमूलको वागमती नदी किनारस्थित ढल सञ्जालमा लगेर जोडिनेछ।

महानगरपालिकाको अनुसार यी पाइपबाट प्रवाह हुने फोहोर पानी धोबीघाटस्थित फोहोरपानी प्रशोधन केन्द्रमा प्रशोधन गरी नदी खोलामा छाडिने छ भने आकाशे पानी ओभरफ्लो संरचनाबाट बाइपास गरी वाग्मती नदीमा मिसाइनेछ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : १९ बजे