१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कीर्तिपुरमा रहेको ऐतिहासिक ‘ख्याली द्यो’को पुनःनिर्माण हुँदै




१७ असार ०७९, कीर्तिपुर । कीर्तिपुर नगरपालिका १ मा अवस्थित ऐतिहासिक महत्वको ‘ख्याली द्यो’ को पुनःनिर्माण गरिने भएको छ । रवीन्द्र पुरी फाउण्डेशन फर कञ्जरभेसन भक्तपुर, ख्याली द्यो संरक्षण गुठी तथा कीर्तिपुर नगरपालिकाको संयुक्त प्रयास र काठमाडौँस्थित अमेरिकी दूतावासको आर्थिक सहयोगमा ख्याली द्योको पुनर्निर्माण गर्न लागिएको हो ।
बुधबार आयोजित कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले संयुक्तरूपमा क्षमता पूजा गरी उक्त ख्याली द्यो पुनःनिर्माणको शुभारम्भ गरको छन् । कूल रु एक करोड ३४ लाखको लागतमा सो ख्याली द्योको पुनःनिर्माण गरिनेछ ।
ख्याली द्योलाई प्रेमको भगवान् मानिँदै आएको छ । यसमा अवस्थित लक्ष्मी नारायणको मूर्ति अत्यन्त महत्वपूर्ण तथा दुलर्भ रहेको छ । शिलालेखअनुसार यस मूर्तिलाई धनपति बहाली भारोले सन् १६९४ मा बनाएका हुन् । अन्य मूर्तिमा भएको जस्तो नभई यस मूर्तिमा लक्ष्मीको हात नारायणको काँधमा साथै नारायणको हात लक्ष्मीको काँधमा अवस्थित देखिन्छ ।

सो मूर्तिमा पूजाआजा गरेपश्चात् प्रेमी प्रेमिकाको सुमधुर सम्बन्ध रहनुका साथै अविवाहितको विवाह हुने जनविश्वास रहेको ख्याली द्यो संरक्षण गुठीले जनाएको छ । पुनःनिर्माण परियोजनाअन्तर्गत मन्दिरलाई पुरानो स्वरूपमा आकर्षक ढङ्गले पुनर्निर्माण गरिनेछ । सोही स्थानमा १६ खुट्टे सत्तलसमेत निर्माण गरिनेछ ।
सो अवसरमा कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीले कीर्तिपुरका सांस्कृतिक धरोहरलाई संरक्षण गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले र्कीतिपुरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिदिन राजदूत बेरीसमक्ष आग्रह गरे ।
नेपालका लागि अमेरिकी राजदूत बेरीले नेवार जातिको कला, संस्कृतिलाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै यहाँका सांस्कृतिक सम्पदाको संरक्षणमा अमेरिकाले सहयोग गर्दै आएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा सुरेश श्रेष्ठले कीर्तिपुरको कला संस्कृतिलाई जीवन्त राख्न नगरवासीलाई आग्रह गरे ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विभिन्न माध्यमबाट विदेशमा पुगेको नेपाली सांस्कृतिक सम्पदालाई नेपाल फर्काउन अमेरिकाले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : २९ बजे