१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ढृुंगा खानी र क्रसरका कारण काभ्रेको रोशी खोला धमिलो ,स्थानीय बासिन्दाको चिन्तन ?’




१९ असार ०७९, बनेपा । रोशी खोला आसपासमा क्रसर उद्योग र ढुङ्गा खानी सञ्चालन गरिएका कारण बाह्रै महिना धमिलो पानी र लेदो मिसिएको पानी बगेकाले खेती गर्नसमस्या भएको गुनासो गर्दै त्यो खोला कहिले सङ्लो हुन्छ भन्ने प्रश्न पीडित किसानले स्थानीय सरकारसँग गरेका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा यहाँका नागरिकले मापदण्डअनुसार खानी सञ्चालन गरिएको हो होइन आवश्यक छानविन गरी रोशीका किसानलाई न्याय दिन आग्रह गरेका हुन् ।
वडा नं ७ का विनोदप्रसाद गौतमले मापदण्ड पुगेको भए सञ्चालन गर्न दिन र नपुगेको भए त्यसका बारेमा जनप्रतिनिधिले चित्त बुझ्दो गरी जवाफ दिन आग्रह गरे । नमोबुद्ध नगरपालिका भएर बग्दै रोशी खोलामा मिसिने दाप्चाखोला र सोही गाउँपालिकाभित्र रोशी खोलासँगै बिपी राजमार्ग आसपासमा मात्रै दर्जन बढी क्रसर उद्योग र ढुङ्गाखानी सञ्चालनमा छन् । ती उद्योग र ढुङ्गाखानीले खेतीयोग्य जमिन(खेतका फाँट)मा लेदोले पुरिनाका साथै रोशी खोला धमिलो भएर दूषित हुँदै आएकोे छ ।

सोही ठाउँका अर्का पर्शुराम गौतमले पालिकाबाट योजना सम्झौता गर्ने बेलामा सबै अङ्ग्रेजी माध्यमबाट मात्रै लेख्ने गरेका कारण योजना कार्यान्वयनका बेलामा समस्या आउने गरेको बताए ।
सहजताका लागि आगामी दिनमा नेपाली माध्यममै लागत अनुमान बनाएर दिनपर्नेमा जोड दिँदै उनले सूचना प्रसार गर्न पालिकाले सञ्चालन गर्ने गरेको फेसबुक पेजमा सबैलाई पहुँच पुग्ने गरी जोड्न र त्यसका लागि सहजीकरण गर्न पनि आग्रह गरे ।
वडा नं८ का राजेश शाहले मल अभाव भइरहेका बेलामा किसानले लाग्ने वास्तविक मूल्य तिरेर मल किन्न नपाउने तर बढी मूल्य तिरेर मल किन्न पाउने अवस्था सिर्जना भएको भन्दै स्थानीय सरकारले कसरी व्यवस्थापन गर्न सक्ने बताए । सोही वडाका रकमराज तामाङले शिक्षा निःशुल्क भने पनि सामुदायिक विद्यालयमा शिक्षक अभावका कारण देखाउँदै बालबालिकाबाट विभिन्न नाममा शुल्क उठाएर अभिभावकलाई भार थुपार्ने काम गरेको भन्दै बरु शिक्षक दरबन्दी थप गर्न आग्रह गरे ।
नागरिकका जिज्ञासाको जवाफ दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले संविधानको व्यवस्थाबमोजिम कुनै पनि शिक्षण संस्थाले शुल्क नलिएको र लिन छुट नदिएको बताए । पालिकाको बजेटमध्ये करिब रु दुई करोडभन्दा बढी शिक्षा क्षेत्रमै खर्च गरेकाले विद्यार्थीबाट पैसा असुल्ने कुरा अव्यवहारिक भएको उनको भनाइ थियो।

त्यस्तै अर्को प्रश्नको जवाफमा प्रमुख प्रशासकीय अधिकृत तामाङले लागत अनुमान तयारी भइसकेपछि एकपटक नेपालीमा बुझाइ दिन प्राविधिकलाई आग्रह गर्दै आएको बताए ।
राम्रोसँग नबुझ्दा लागत अनुमान एकातिर र काम अर्कोतिर हुने भएकाले बिल भर्पाई दाँजेर हेर्नुपर्नेमा जोड दिँदै र अन्तिम मूल्याङ्कन फरक पर्न जाने अवस्थाले उपभोक्ता समितिलाई समस्या पर्न जाने भएकाले तालमेल मिलाउन कम्तीमा अनुमानित लागत तयार भइसकेपछि नेपालीमा कामको सबै विवरण टिपाइदिन आग्रह गर्दै आएकामा आगामी दिनमा त्यसलाई अझ सुधार गर्दै जाने उनले बताए ।
“रोशी खोलामा वातावरण प्रदूषण रोक्न र खोलाको पानी कसरी सफा राख्न सक्छौँ भनेर योजना बनाइरहेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत तामाङले भने, “क्रसरकै कारण राजमार्गसमेत अवरुद्ध हुने अवस्थामा त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे केन्द्रित भएर छलफल चलाएका छौँ ।” उद्योग कलकारखाना बन्द नै गर्नुपर्छ र निरुत्साहित गर्नुपर्छ भन्ने मान्यता आफ्नो नरहेको र त्यहीबाट रोजगारी सिर्जनासमेत हुने भएकाले वातावरण प्रदूषणलाई कसरी कम गर्ने भन्नेमा अगाडि बढ्ने उनले बताए ।

सो क्रममा प्रमुख प्रशासकीय अधिकृत तामाङले मल उपलब्ध गराउनका लागि कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ लिमिटेडमा निरन्तर सम्पर्क भइरहेकाले उपलब्ध हुनासाथ वितरण गर्न कुरा भइरहेको र राजमार्ग भएर अवैधरुपमा भित्रिरहेको मल नियमन गरिने जानकारी दिए । गाउँपालिकाले प्रवाह गर्दै आएको सेवा, विकासका आयोजना, सामाजिक पूर्वाधार र शैक्षिक क्षेत्रलगायत समसायिमक विषयमा नागरिकको जिज्ञासा र गुनासोको सम्बोधन गर्दै दिएको सुझावलाई मनन गरी कार्यान्वयन गर्न सार्वजनिक सुनुवाइ आयोजना गरेको थियो । रासस

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : ४४ बजे