१५ साउन ०७९, काठमाडौं । काठमाडौं चाबहिलस्थित सरस्वतीनगरमा डकैती गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। खाजा पसल चलाउने सुनसरीको धरान उपमहानगरपालिका १० की ५३ वर्षीया महिलाको सुनको सिक्री, कुण्डल, फूली, औंठी र नगद लगायत धनमाल डकैती गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ७ चाबहिल सरस्वतीनगर बस्ने मकवानपुर छतिवन गाउँपालिका ४ का २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर नगरपालिका ६ जोरपाटी बस्ने २२ वर्षीय भुपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका(६ जोरपाटी बस्ने सिन्धुपाल्चोकका २४ वर्षीय कवीरजंग कुँवर, काठमाडौं दक्षिणढोका बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका २२ वर्षीय कल्याण कुमार सुवेदी र काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने सिन्धुपाल्चोक तौथली गाउँपालिका ५ का ४५ वर्षीय बुनु श्रेष्ठ छन्।
कुकुरलाई दिशा गराउन भनि साउन ८ गते बिहान ३ बजे पसलको सटर खोल्दा तत्काल नाम, थर, वतन नखुलेका ३ जना ब्यक्तिहरू सटरभित्र प्रवेश गरी ती महिलाको हात, खुट्टा कपडाले र मुखमा टेपले बाँधेर कुटपिट गरी उक्त धनमाल डाँका गरेको पीडितले प्रहरीलाई बताएकी छन्।
प्रहरी बृत्त गौशाला, बौद्ध र मालीगाउँ समेतबाट खटिएको संयुक्त प्रहरीले कपन, जोरपाटी र माकलबारी लगायतका स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले उतम तामाङको साथबाट २२ हजार ५ सय रूपैयाँ, भुपाल श्रेष्ठको कोठाबाट आधा तोला बराबरको १ जोर सुनको कुण्डल, १ थान औंठी, १ थान पहेँलो रङको घडी र १ थान मोबाइल बरामद गरेको छ।
प्रतिक्रिया