८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर काँग्रेस नेता मदनबहादुरले बोली फेरेपछि…




१७ कात्तिक ०७९, ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा ललितपुर काँग्रेसका पुर्व सभापति मदनबहादर अमात्यले मुख फेर्दै गठबन्धनको पक्षमा बोलेका छन् ।
ललितपुरको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी नेकपा माओवादीको भागमा परेपछि असन्तुष्ट अमात्य पछिल्लो समय गठबन्धनको सार्वजनिक सञ्चारमाध्यमहरुमा बोल्दै असन्तुष्टि व्यक्त गरिरहेका थिए । तर उनी पछिल्लो समय एकाएक गठबन्धनको प्रचारमा निस्केका छन् ।
विहीबार शंखमुलस्थित एक होटलमा आयोजित वाम लोकतान्तिक भेलामा सहभागी हुँदै अमात्यले गठबन्धनको पक्षमा खुलेरै बोले ।
अमात्यले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभामा गठबन्धनले नजिते नेपाली जनताको सात पुस्ताले दुःख पाउने बताएका छन् ।
उनले दुई तीन पुस्ताले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्था र जनभावनाअनुसारको संविधान जोखिममा परेकाले गठबन्धन गर्नुपरेको बताए ।
यसअधि उनी प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गरेर भूल गरेको बताउने गरेका थिए ।
अमात्यले दलका आवरणमा जन्मेको निरंकुशताको अन्त्य गर्न गठबन्धनको विजय अपरिहार्य रहेको समेत बताए ।
नेपाली काँग्रेस वागमती प्रदेश कार्यवाहक सभापति चन्द्र महर्जनले समावेशी र समानुपातिक व्यवस्थाले पछाडी परेका वर्ग, समुदाय, महिला, आदिवासी जनजातीलाई मूल प्रवाहमा ल्याएकोमा एकथरी प्रतिगामीहरुको टाउको दुखिरहेकाले उल्ट्याउन लागेको भन्दै संविधान र जनताका अधिकार जोगाउन गठबन्धनका उम्मेदवारहरुको विजय जरुरी रहेको तर्क गरे ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्णलाल महर्जनले युवाहरुलाई उद्यमशीलता मार्फत समृद्ध हुन राज्यका तर्फबाट प्राविधिक तथा नीतिगत सहयोग, पुँजी तथा जनशक्ति व्यवस्थापन लगायतमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उम्मेदवार महर्जनले ललितपुरमा विशेष गरी हस्तकला तथा पर्यटनमा आधारित उद्यमलाई युवा उद्यमशीलता समृद्धिको आधार बनाइने बताए ।
प्रदेश ख का उम्मेदवार रामकृष्ण चित्रकारले पाटनलाई कलाको राजधानी बनाइने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले समेत बोलेका थिए ।
ललितपुर क्षेत्र नं २ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार छन् भने प्रदेश २(१) मा रिसा श्रेष्ठ र प्रदेश २(२) मा रामकृष्ण चित्रकार उम्मेदवार छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : ३५ बजे