२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विकासका लागि जनताले जनप्रतिनिधिसँग हात जोड्नुपर्दैन– उदयशमशेर राणा



ललितपुर, २९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले विकासका लागि जनताले जनप्रतिनिधिसँग हात जोड्नुनपर्ने बताएका छन् । गोदावरी नगरपालिका–५ लेलेमा मंगलबार बिहान भएको घरदैलो कार्यक्रममा ललितपुर–१ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका राणाले आफ्नो क्षेत्रको विकासका लागि निर्धक्क भएर जनप्रतिनिधिसँग कुरा गर्न आग्रह गरे ।

उनले भने, ‘यहाँ बाटो चाहियो, यहाँ खानेपानी चाहियो भनेर जनप्रतिनिधिसँग तपाईहरुले हात जोड्नुपर्दैन । निर्धक्क भएर हात मिलाएर हामीसँग आफ्ना मागहरु राख्नुहोला ।’ उनले लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा र प्रतिनिधिसभाका जनप्रतिनिधि ललितपुर १ को विकासका लागि प्रतिबद्ध रहेको बताए ।

‘अब बाटो बनाउन दशजनासँग बिन्ती गर्नुपर्दैन । हात मिलाएर यो बाटो पिच गरिदिनुस् भनेर बिन्ती गर्नुपर्दैन । यहाँका स्थानीय तहका जनप्रतिनिधि र हामीहरु मिलेर विकासको काम गर्छौं,’ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राणाले भने, ‘एमालेका उम्मेदवारहरुले हामीलाई गाली गर्नेबाहेक अरु केही काम गरेका छैनन् । सांसदको काम सेलिब्रेटी बन्ने होइन । खेतगरामा गएर धान काटेजस्तो गरेर फोटो खिचेर प्रचार गर्ने होइन, फोटो खिच्नकै लागि स्कुलमा रंग लगाएजस्तो गर्ने पनि होइन ।’

उनले लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारलाई मत दिन आग्रह गरे । ‘जनप्रतिनिधि भनेको जनताको दुःखसुखमा साथ दिने हो । यो काम कसले गरेको छ ? त्यो तपाईले मूल्यांकन गर्नुहोला । हामीहरु सबै मिलेर यो क्षेत्रको विकास गर्छौं । गठबन्धनका सबै साथीहरुलाई जिताएर पठाउनुस्,’ उनले भने । ललितपुर १ मा कांग्रेस नेता राणा र एमाले उम्मेदवार नवराज सिलवालबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।