९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका दुई रेष्टुराँलाई जरिवाना   



काठमाडौं, १६ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा रेष्टुराँलाई नगद जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा विभागले काठमाडौँको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्याङ्क्वेट एन्ड रेष्टुराँ र सिनामङ्गलमा रहेको बाजेको सेकुवालाई नगद जरिवाना गरेको हो ।

बजार अनुगमनका क्रममा उक्त दुई रेष्टुराँले व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाहीस्वरुप रु एक/एक लाख नगद जरिवाना गरिएको विभागका अनुगमन अधिकृत ध्रुव खनालले जानकारी दिए ।  उनका अनुसार होटल तथा सेवा क्षेत्रअन्तर्गत पर्छन्, सोही अनुसार घरेलु कार्यालयमा दर्ता भएको हुनुपर्छ ।

यस्तै, सिनामङ्गलमा पाँच वर्षदेखि सञ्चालित बाजेको सेकुवाले समेत व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ । विभागको आज कारबाही गरेका होटल तथा रेष्टुराँले तोकिएको जरिवाना रकम सात दिनभित्र भुक्तानी गर्नुपर्नेछ ।

 सेवा शुल्कको अनुगमन    

विभागले होटल तथा रेष्टुराँहरूले ग्राहकबाट अतिरिक्त सेवाशुल्क लिएको विषयमा समेत अनुगमन गरेको थियो । यही माघ ११ गते सर्वाेच्च अदालतले होटल तथा रेष्टुराँहरूले थप सर्भिस चार्ज लिन नपाउने व्यवस्था गरेपछि विभागले त्यसको अनुगमन गरेको हो ।

काठमाडौँको इन्द्रेणी फुडल्यान्ड, बेकरी क्याफे, रोयल एलिनाज, रोयल लाउञ्ज ब्याङ्क्वेट एन्ड रेष्टुराँ र सिनामङ्गलमा रहेको बाजेको सेकुवाले राखेको मेन्युको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा केही होटलले सर्भिस चार्ज र भ्याट लिएको पाइएको थियो । पहिलो चरणमा थप सर्भिस चार्ज लिन नपाउने व्यवस्थाका बारेमा मात्रै जानकारी गराइएको विभागले जनाएको छ ।

होटल–रेस्टुराँहरूले श्रम ऐन ०७४ को दफा ८७ (३) र श्रम नियमावली ०७५ को नियम ८२ को प्रावधानका आधारमा ग्राहकबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए ।

सेवा शुल्कलाई खानाको मूल्यसरह अनिवार्य गरी उक्त सेवा शुल्कलाई बिक्रीको कूल मूल्यमा जोडी त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर थप गरेर पनि लिने गरेका थिए । सर्वोच्चले संविधानको धारा, ४४ र ११५ (१) को भावना र मर्मअनुकूल नदेखिएको भन्दै श्रम ऐन ०७४ को दफा ८७ (३) र श्रम नियमावली ०७५ को नियम ८२ को व्यवस्था माघ ११ गतेदेखि लागू हुने गरी अमान्य र बदर घोषित गरिदिएको हो ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : ४२ बजे