८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कलङ्की बसुन्धारा चीन सरकारले काम गरेन, सरकार सहायक सडक निर्माण गर्दै



गोगबु स्थित चक्रपथमा अलपत्र अवस्थामा राखिएको ढल, धुलाम्मे सडक र पार्किङ ।

काठमाडौँ
८ फागुन । चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलङ्की बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ । सडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउमा काम थालिसकेको छैन । चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो । चिनियाँ पक्षले काम शुरु नगरेकाले सरकारले गर्नुपर्ने खण्डमा पहिले सुरु गरिएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।
चक्रपथको बाहिरी लेनमा ढल हाल्ने काम भइरहेको योजनाकी प्रमुख सजना अधिकारीले बताउएका छन् । मुख्य लेनको २५÷२५ मिटर बाहिर सडकको दुबैतर्फ छ÷छ मिटरमा कालोपत्र गर्न सम्झौता भएको थियो । आगामी वर्ष फागुनसम्म काम सक्ने लक्ष्य छ ।
अहिले कलङ्कीबाट बसुन्धारासम्म बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण गर्ने गरी ठेक्का भएको छ । चक्रपथको पहिलो खण्डमा नेपाल सरकारले सबैभन्दा बाहिरी लेन कालोपत्र गर्ने गरी सम्झौता भएको थियो । पहिलो खण्डमा अझै बालकुमारीलगायत थोरै खण्डमा सडक बनिसकेको छैन । पहिलो चरणको चक्रपथ विस्तारमा चिनियाँ सरकारले सडक निर्माण सम्पन्न गरेपनि मात्रै ‘सर्भिस ट्रयाक’ सुरु भएको थियो । अहिले भने मुख्यभन्दा सहायक लेन पहिले निर्माण गर्न लागिएको हो । पहिलो चरणको विस्तारमा सरकारले तीन आकाशे पुल निर्माण गरेको थियो ।

त्यो अपुग भएपछि सरकारले आवश्यकताका आधारमा आकाशे पुल निर्माण गरेको थियो । चिनियाँ पक्षले सडक निर्माणको क्रममा आकाशे पुल निर्माण गरेपछि अपुग भएमा पछि सरकारले बनाउन सक्ने प्रमुख अधिकारीले बताए । सडक निर्माण सकिँदा नसकिँदै खन्ने प्रवृत्ति पुनरावृत्ति भइरहँदा योजनाले सकेसम्म समन्वय बढाएर सडक निर्माण गर्न लागेको प्रमुख अधिकारीले बताए ।
कलङ्की बसुन्धारा खण्डमा अहिले योजना आफैँले ढल हालिरहेको छ भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयले पाइप विच्छाउने काम गरिरहेका छन् । उनले भने, “सकेसम्म खन्न नपर्ने गरी हाल्न लागिएको छ ।”पहिले सडकको बीचमा खानेपानी पाइप रहेकामा अहिले छेउबाट मात्रै राखिएको प्रमुख अधिकारीले बताए । कतैकतै क्रसिङमा मात्रै बीचको लेन भएर पाइप लैजाने उनले बताए ।
सो खण्डमा सडक निर्माणका लागि निर्माणस्थल खाली गराउन रुख काट्ने, खानेपानीको पाइप, विद्युत्को पोल हटाउन काम सकिएको छ । उनले भने, “पोल ग्रीन बेल्टमा पर्ने हुँदा सार्न ुपर्ने हुँदैन र काम अघि बढाउन सकिन्छ ।” सामान्यतया पहिलो खण्डजस्तो हुने भने पनि अहिलेसम्म कस्तो डिजाइनमा निर्माण हुने टुङ्गो लागिसकेको छैन । साइकल लेन निर्माणलगायतका केही कुरा फरक हुनसक्ने छ । मुख्य सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल अघि बढाएको छ ।
उपप्रधानमन्त्री तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले हालै चिनियाँ राजदूतसँग चक्रपथ सडक चाँडो सम्पन्न गर्न आग्रह गरेका थिए । सरकारले चक्रपथको दोस्रो चरणमा कलङ्कीबाट चावहिल नजिकै धोबीखोलासम्म विस्तारका लागि अनुरोध गरेपनि हाल बसुन्धारासम्मको सडक चीन सरकारको सहयोगमा विस्तार हुने आयोजनाकी प्रमुख अधिकारीले बताए । कलङ्कीबाट बसुन्धारासम्म सडक निर्माणको लागि सम्झौता भएको थियो ।
उनले भने, “महाराजगञ्जको जग्गा उपलब्ध नहुँदा त्यसभन्दा अघि गर भन्न सकिने अवस्था भएन । त्यहाँसम्म अर्काे चरणमा हुनसक्छ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चिनियाँ पक्षले निर्माणस्थल खाली नै नभएसम्म निर्माण सुरु नगर्ने हुँदा दोस्रो खण्डमा मुख्य लेनमा विस्तार सुरु नभएको बताए । सरकारले वा अरु दातृ निकायको भए यही अवस्थामा निर्माण सुरु गर्ने भए पनि चिनियाँ पक्षले चक्रपथको पहिलो खण्डमा विस्तार हुँदा सडक खाली हुन ढिलाइ भएको देखेर अहिले पूरै खाली नभएसम्म सुरु नगरेको बताए ।
पहिलो खण्ड निर्माण गर्दा एउटा पोल हटाउन पनि छ महिना लागेकाले ढिलाइ भएको उनको भनाइ थियो । उनले भने, “चिनियाँ राजदूतलाई सबै कुरा भनेको र हाम्रो सन्दर्भमा गर्न भनेका छौँ र उताबाट पनि यसलाई लिखित पत्र माग्नुभएको छ ।” चक्रपथको पहिलो खण्डका रुपमा सरकारले कोटेश्वर कलङ्की खण्ड पाँच वर्ष पहिले आठ लेनमा विस्तार गरेको थियो । सो विस्तारपछि अहिले मुख्यमुख्य चोकमा बाहेक सवारी चापका समस्या छैन । दोस्रोचरणको विस्तारको तयारी सुरु भएको तीन वर्ष वित्दासमेत अझै मुख्य सडक पूरै खाली भइसकेको छैन ।
(रासस)

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : ५८ बजे