४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सडक जीर्ण बनेपछि काभ्रेमा गाडीको भारमापन



दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि पनि मालवाहक सवारीमा भारमापनमा कडाइ गर्नुपर्ने देखियो

 

५ बैशाख । काभ्रेपलाञ्चोकले राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्य रूपमा भारमापन गर्न निर्देशन दिएको छ । ठूला सवारीले मापदण्डभन्दा धेरै सामान बोक्दा सडक जीर्ण बनेपछि भारमापन गरेर मापदण्ड अनुसार मात्रै सामान ढुवानी गर्न यो नियम लागू गरिएको हो ।

कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्य रूपमा भारमापन गर्न निर्देशन दिइएको हो ।

विसं २०७८ पुसमा काभ्रेको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो ।
त्यसयता व्यवसायीले आनाकानी गर्दै आएका थिए । मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।

गृह मन्त्रालयले जिल्लाका तौल पुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि कार्यालयले सोमबार सरोकारवाला निकायका प्रतिनिधिलाई छलफलका लागि डाकेको थियो ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आउने बिहीबारदेखि मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको बताएका छन् । “अब जसरी भए पनि तौलपुल सञ्चालन गर्ने हो, मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न लगाइनेछ”, उनले भने ।

तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न÷गराउन आग्रह गर्दै आएका थिए । पनौती र पाँचखाल नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई र नमोबुद्ध नगरले कोटकालिका मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई मालवाहक सवारीसाधनको अनिवार्य भारमापन गरी गर्न÷गराउन निर्देशन दिँदै आएका थिए ।

भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । “दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि पनि मालवाहक सवारीमा भारमापनमा कडाइ गर्नुपर्ने देखियो”, प्रजिअ पौडेलले भने ।

मालवहाक सवारीले इच्छाअनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिका सरोज कुइँकेलले बताए । उनका अनुसार सबै मालवाहक सवारीले भारमापन गर्ने हो भने सडक सुरक्षामा निकै मद्दत पुग्नेछ । निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले रु एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ ।

जिल्लास्थित दक्षिणी क्षेत्र बनेप –खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्ग तथा अरनिको र विपी राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारीसाधन चल्ने गर्दछन् । मालवाहक सवारीले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकसमेत बर्सेनि जीर्ण हुने गरेका छन् ।

 

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १ : २३ बजे