१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ओस्कार यात्राबाट नेपालको ‘शाम्बाला’सँगै भारतको ‘लापता लेडिज’पनि बाहिरियो



३ पुस । विश्वकै प्रतिष्ठित अवार्ड मानिने ओस्कारमा यसपटक पनि नेपाली फिल्म छनोट हुन असफल भएको छ।

९७औं ओस्कार अवार्डका लागि मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको थियो।

बुधबार ओस्कार आयोजक संस्था एकेडेमी अफ पिक्चर आर्ट्स एन्ड साइन्सेसले सार्वजनिक गरेको १५ फिल्मको सर्टलिस्टमा ‘शाम्बाला’ पर्न सकेन।
यो फिल्मले अष्ट्रेलियाको एसिया प्यासिफिक अवार्डमा युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड, भारतको मुम्बई फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड, टर्कीको बोसफोरस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितिसकेको छ। यसैले ‘शाम्बाला’ ओस्कारको सर्टलिस्टमा पर्न सक्ने अपेक्षा गरिएको थियो। तर, यसपटकको ओस्कार पनि नेपालका लागि विर्सनलायक बनेको छ। ‘क्याराभान’बाहेक अहिलेसम्म कुनै नेपाली फिल्म ओस्कारको सर्टलिस्टमा पर्न सकेका छैनन्।

त्यसो त यसपटक ओस्कार एसियाकै लागि निराशाजनक बन्न पुगेको छ। १५ फिल्मको सर्टलिस्टमा एसियाबाट थाइल्यान्डको ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ मात्र अटाएको छ। भारतबाट सिफारिस भएको ‘लापता लेडिज’ पनि ओस्कारमा छनोट हुन सकेन। सन् २०२३ मा भारतीय फिल्म ‘आरआरआर’को ‘नाटु नाटु’ गीतले ओस्कार जितेको थियो।

ओस्कारमा छनोट १५ वटा फिल्ममा थाइल्यान्डको फिल्मसहित ब्राजिलको ‘आइएम स्टिल हेयर’, क्यानडाको ‘युनिभर्सल ल्यांग्वेज’, चेक रिपब्लिकको ‘वेभ्स’, डेनमार्कको ‘द गर्ल विथ द निडल’, फ्रान्सको ‘इमिलिया पेरेज’, जर्मनीको ‘द सिड अफ द सेक्रेड फिग’, आइसल्यान्डको ‘टच’, आयरल्याण्डको ‘निक्याप’, इटालीको ‘वर्मिग्लियो’, लात्भियाको ‘फ्लो’, नर्वेबाट ‘आर्मन्ड’, प्यालेस्टाइनको ‘फ्रम ग्राउन्ड जिरो’, सेनेगलको ‘दाहोमे’ र बेलायतको ‘सन्तोष’ छन्। अब यसबाट पनि अन्तिम ५ फिल्मको मनोनयन घोषणा हुनेछ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।