काठमाडौं
नेपाली चलचित्रकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी छिन् ।
अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’का मार्फत उनी अभिनयमा पुनरागमन गरेकी हुन् ।
सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पनि कलाकारको रूपमा प्रमुख भूमिकामा छन् । अरुणिमा र बिमलेशसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा जस्ता कलाकारहरूले पनि सिरिजमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।
सिरिजका दुई पोस्टर सार्वजनिक भर्खरै गरिएको छ । सिरिज नेपाली ओटिटी ’एमएसएम भिडियो’मा प्रसारण हुने उनले जानकारी दिएका छन् ।
बिमलेशका अनुसार यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट स्ट्रिमिङ हुनेछ । पहिलो सिजनको लागि १२ वटा शृङ्खला तयार भएका छन्, यी सबै शृङ्खला एकसाथ प्रसारणमा आउने निर्देशक अधिकारीले बताए ।
यो सिरिज व्यावसायिक रूपमा ओटिटीमा प्रशारण हुने नेपालको पहिलो सिरिज रहेको निर्देशकले अधिकारीले बताए । “नेपाली वेब सिरिजको इतिहासमा पहिलो पटक यसरी व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुँदैछ । यो इतिहासको एउटा नाम बन्न पाउँदा ज्यादै खुसी छु,“ अधिकारीले बताए ।
सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको छ । यसअघि यसको टिजर तथा प्रचारात्मक गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको थियो । टिजर तथा गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गर्छन् । अब पहिलो सिजनको लागि ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशकले बताए ।
सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ ।








प्रतिक्रिया