काठमाडौँ
पछिल्लो समय ललितपुरको चिडियाघर राती पनि थालेको छ, व्यवस्थापनले सन्ध्याकालीन सेवा सुरु गरेपछि आगन्तुकको भीड बढ्न थालेको छ ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको हो ।
चिडियाखानाले गत वैशाख १ गतेदेखि साँझ ७ बजेसम्म प्रवेशको व्यवस्था सुरु गरेपछि अवलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि बिहान १० देखि साँझ ५ बजेसम्म मात्र खुल्ने गरेकामा पछि सन्ध्याकालीन समय थप गरी साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको चिडियाखाना व्यवस्थापनले जनाएको छ ।
नयाँ व्यवस्था लागू भएपछि २०८२ वैशाख १५ देखि जेठ १५ गतेसम्म ९९ हजार २१९ जनाले चिडियाखानको अवलोकन गरेका छन् । उक्त सेवा सुरु हुनुअघि २०८१ वैशाख १५ देखि जेठ १५ गतेसम्म भने जम्मा ८४ हजार ३३६ जनाले अवलोकन गरेको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिएका छन् ।
यस अवधिको तुलना गर्दा १४ हजार ८८३ जना सेवाग्राही बढेको र त्यसबाट चिडियाखानालाई करिब रु २५ लाख बढी आम्दानी भएको बताउदै प्रमुख साहले अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले आफ्ना कर्मचारीलाई तलबभत्ता र त्यहाँ राखिएका जीवजन्तुलाई आहारा खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको जानकारी दिए ।

हाल चिडियाखाना व्यवस्थापनले नेपाली वयस्क नागरिकलाई रु २ सय, विद्यार्थीलाई रु १ सय ३५, ज्येष्ठ नागरिकलाई रु १ सय, बालबालिकालाई रु ७५, ‘सार्क’ मुलुकका नागरिकलाई रु ५ सय र विदेशी नागरिकलाई रु एक हजार प्रवेश शुल्कको व्यवस्था गरेको छ । चिडियाखानामा हाल जम्मा ७० कर्मचारी रहेका र दैनिक औसतमा दुई हजार जनाले अवलोकन गर्ने गरेका छन् ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो । जावलाखेलस्थित सदर चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको छ । पहिलो ३० वर्षको अवधि समाप्त भएपछि वन मन्त्रालयले हालै मात्र अर्को थप ३० वर्षका लागि कोषलाई चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी प्रदान गरिसकेको छ । करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल १ सय १७ प्रजातिका एक हजार ३ सय वन्यजन्तु तथा पक्षी रहेका छन् ।
प्रतिक्रिया