२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पाटनमा आजदेखि कार्तिक नाच प्रारम्भ



पाटन (ललितपुर)
ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रारम्भ भएको छ । विगत तीन सय ८५वर्षदेखि हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन हुँदै आएको छ ।

आज साँझदेखि सुरु नाच १९ गतेसम्म साँझ ७ बजेसम्म नियमित रूपमा नाच सञ्चालन हुने समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिएका छन् । “यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ, त्यसैले १० दिनसम्म सञ्चालन हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसार नाच देखाइन्छ”, समितीका अध्यक्ष चित्रकारले भने,“यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक वर्ष कात्तिक महिनामा सञ्चालन हुँदै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ नाच चलाएको जनविश्वास छ ।”

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहास छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर देखाउनु हो । अध्यक्ष चित्रकारका अनुसार मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको इतिहास रहेको उनले जानकारी दिएका छन् ।

अध्यक्ष चित्रकारका अनुसार यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पु¥याएका पनि इतिहास छ । हाल यसको विशेषता बुझेका कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको छ ।

यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म नरोकिएको कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्याय बताउछन् । “कार्तिक नाच धार्मिक र तान्त्रिक महत्त्वसँग पनि जोडिएको छ । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ, जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ”, प्रचारप्रसार समितिका संयोजकले भनेका छन् ।

मल्लकालीन समयमा कार्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछिल्लो समय नेपाल भाषामा उल्था गर्न थालिएको जानकारहरू बताउँछन् । यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको राजोपाध्यायको भनाइ छ । “सत्ताइस दिनसम्म नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा उल्लेख छ, तर हाल यसलाई १० दिनमा खुम्च्याइएको छ । विसं २००७ को जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा खुम्च्याइयो । विसं २००८ देखि २०३७ सालसम्म दुई दिन मात्रै देखाइयो । यी दुई दिनमा बराह र नरसिंह अवतार देखाइन्थ्यो”, राजोपाध्यायले भने ।

कार्तिक नाच प्रबन्ध समिति गठन भएपछि विसं २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन भएको राजोपाध्याय बताउछन् । “विसं २०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र विसं २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन भएको थियो । विसं २०७७ सालमा कोभिड महामारीका कारण दुई दिन मात्रै नाच देखाइएको थियो । यस वर्ष १० दिन देखाइँदैछ, २००६ सालयता २७ दिन नै नाच हुन सकेको छैन । सबै २७ दिन गर्न एक वर्ष समय खर्चिनुपर्छ । नाचका लागि अभ्यासमा धेरै समय लाग्छ”, उनले भनेका छन् ।

नाच संरक्षण समितिले नाचलाई निरन्तरता दिन संस्थागत रूपमा रु १० करोडको अक्षयकोष स्थापना, कलाकारलाई व्यावसायिक रूपमा अगाडि बढाउने र नयाँ पुस्तालाई भाषागत रूपमा सबल बनाउन प्रशिक्षण दिने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, सोमबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।