काठमाडौं । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, सशक्त द्वन्द्व दृश्य र पात्रहरूबीचको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा देखिएका छन् भने अभिनेत्री अञ्जना बराइली प्रहरी इन्स्पेक्टरको भूमिकामा प्रस्तुत भएकी छन्। उनीहरूबीचको केमेस्ट्री पनि ट्रेलरमा देख्न सकिन्छ।
फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायत कलाकारहरूको पनि मुख्य भूमिका रहेको छ।
ट्रेलर सार्वजनिक गर्दै निर्देशक विजय केरुङले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे। उनले भने, “फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो। एक्सनसँगै सामाजिक सन्देश बोकेको यस फिल्मले दर्शकलाई बाँध्ने विश्वास छ।”
फिल्मले सत्ताका लागि नेताहरूले जे पनि गर्न सक्छन् भन्ने यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको निर्देशकको भनाइ छ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’को कथा तथा निर्माण दीपक शिवाकोटीको रहेको छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्। फिल्मको निर्देशन विजय केरुङले गरेका हुन्।
फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। यसअघि सार्वजनिक पोस्टर, टिजर र ‘पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ चासो बढाइसकेको यो चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।







प्रतिक्रिया