काठमाडौं । तिहारको तेस्रो दिन आज ऐश्वर्य, धनधन्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा र कुकुर तिहार एकैसाथ मनाइँदैछ। हिन्दु परम्पराअनुसार लक्ष्मीपूजामा घर–घरमा दीप प्रज्वलन गरी देवीलाई आमन्त्रण गरिन्छ भने यस वर्षको तिथिको घटबढका कारण कुकुर तिहार पनि आजै परेको छ।
घर सफा, सुग्घर र लिपपोत नगरिएको ठाउँमा लक्ष्मीले बास नगर्ने विश्वासका आधारमा आज बिहानै घरधुरी सफा गरी दीपावली प्रज्वलन गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरिन्छ। लक्ष्मी पूजा हुने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ।
आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरेर चामलको पीठो र अबिरले देवीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ। दीपावली सम्पन्न भएपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक पूजा गरिन्छ। पूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ।
यस वर्षको तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको हो। कुकुर तिहारमा घरपालुवा कुकुरलाई माला लगाएर, मीठा परिकार खुवाएर र पूजा गरेर सम्मान दिइन्छ। धार्मिक विश्वासअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरले यमराजको ढोकामा द्वारपालको रूपमा बसेर मार्ग छोडिदिने भएकाले यमपञ्चकको अवसरमा कुकुर तिहार मनाइन्छ।
पौराणिक कथाअनुसार, वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको विश्वास रहेको छ। यसैले कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा सम्मान गरिन्छ।
यस अवसरमा नेपालभरिका घर र सार्वजनिक स्थानहरू झिलिमिली बत्ती, रंगोली, फूलमाला र दीपावलीका विशेष सजावटले भरिएका छन्। लक्ष्मीपूजा र कुकुर तिहारको संयुक्त पर्वले धार्मिक विश्वास र सांस्कृतिक परम्पराको संरक्षण गर्दै, सामाजिक सद्भाव, परिवारिक एकता र समृद्धिको भावना प्रवर्धन गर्ने अवसर प्रदान गरेको छ।








प्रतिक्रिया